विटौरी कर वृद्धिको विरोधमा कलैया बजारका तरकारी ब्यवसायी भए आन्दोलित

राजेश कुशवाहा
428 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिकाले बहाल विटौरी कर वृद्धि गरेको विरोधमा कलैया बजारका तरकारी ब्यवसायीहरु शुक्रबार देखि अनिश्चित कालिन आन्दोलनमा उत्रिएका छन्।

उपमहानगरपालिकाले बृद्धी गरेको विटौरी कर फिर्ता लिनुपर्ने माग गर्दै तरकारी तथा फलफूल खुद्रा ब्यवसायी संघ कलैयाका अध्यक्ष आलम हुसेनको अगुवाईमा कलैया बजारका तरकारी ब्यवसायीहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका हुन्।

सो को बिरोधमा तरकारी ब्यवसायीहरु पसल बन्द गरी बिहानै देखि कलैया बजारमा धर्नामा बसेका छन्। उपमहानगरपालिकाले रु ३० रुपैयाँ बहाल विटौरी कर लाग्ने ठाउँमा थप रु २० रुपैयाँ बढाएको छ।

४० रुपैया लाग्ने ठाँउमा थप रु ४० रुपैया बढाएको अध्यक्ष हुसेनले बताए। पहिला ३० रुपैयाँ बहाल विटौरी कर दिदै आएकोमा तरकारी ब्यवसायीलाई अहिले रु ५० रुपैयाँ दिनुपर्ने र ४० रुपैयाँ लाग्ने ठाउँमा रु ८० रुपैयाँ दिनुपर्ने भएकाले आर्थिक भार थपिएको छ उनले भने। कलैया उपमहानगरपालिकाले बढाएको बहाल विटौरी कर फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनले बताए।

यता नगर प्रहरीले आफनो शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरी तरकारी पसल खुलाउन लागेकोमा ब्यवसायीहरुले घोर भत्र्सना गरेका छन। तरकारी ब्यवसायीहरु बढाएको बहाल विटौरी कर दिन अक्षम रहेको अध्यक्ष आलमले बताए ।

कलैया बजारमा दुई सयको संख्यामा खुद्रा तरकारी ब्यवसायीहरु रहेका छन ।तरकारी ब्यवसायीहरु आन्दोलनमा उत्रेपछि कलैया बजार सुनसान भएको छ।

Leave a review