प्रकाशकीय : विशेष दिनमा शुभयात्राको सन्देश

साझेदारी दैनिक
378 पाठक संख्या

साझेदारी राष्ट्रिय दैनिक १० वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ। यो हाम्रोलागि अत्यन्त हर्ष र खुशीको कुरा हो। हाम्रोलागि यो शुभ दिन हो। तत्कालीन अवस्थामा बारामा दैनिक पत्रिकाको अभाव थियो। धेरै किसिमको चुनौती थियो। त्यसवेला तराई मधेशमा अधिकारकोलागि मधेश विद्रोह भइरहेको थियो।

आन्दोलनको भूमि बनेको थियो बारा । संविधानमा मधेशको माग सम्बोधन नभएको भन्दै संविधानमा मधेशको माग समावेश गर्न माग गर्दै तत्कालीन मधेशी जन अधिकार फोरमको नेतृत्वमा सम्पूर्ण मधेश आन्दोलनमा होमिएको थियो। आन्दोलन भइरहेको थियो। आन्दोलन उत्कर्षमा थियो। त्यसवेला आन्दोलनको विच यो पत्रिकाको जन्म भएको हो।

आवाजविहीनहरुको आवाज बन्ने संकल्पका साथ यो पत्रिकाको जन्म भएको हो।समाजमा पिछडिएका, सिमान्तिकृतवर्ग तथा निमुखाहरुको आवाज बन्ने उद्देश्यका साथ यो पत्रिकाको जन्म भएको हो। आफ्नो सिद्धान्तको पालना गर्दै यो पत्रिका अगाडी बढीरहेको छ। पत्रिका सबैको हो। सबैको समस्या उजागर गर्न तथा सो समस्याको समाधानको आवाज बन्न यो पत्रिकाले निरन्तर काम गरिरहेको छ। यो शुभ दिनमा सबैको आवाजको रुपमा काम गर्ने प्रतिबद्धताको साथ यो पत्रिकाले निरन्तर काम गरिरहने विश्वास व्यक्त गर्न चाहन्छौ।

कुनै पनि यात्रा सहज हुदैन। यात्राको क्रममा आरोह, अवरोह तथा ठहराव हुने गर्छ। हाम्रो यस यात्रामा विभिन्न किसिमको चुनौतीहरुको हामीले सामना गरेका छौं। यसक्रममा विभिन्न किसिमको चुनौतीहरुलाई सफलतापूर्वक हामीले पार गरेका छौं। लाखौं माइल्सको यात्रा एक पाइलाबाट शुरु हुन्छ। पवित्र उद्देश्यका साथ व्यवसायिक यात्रामा हामी हिडिरहेका छौं। यसक्रममा बाराको नदीहरुमा धेरै पानी वगिसकेको छ। लालबकैया, पसाहा, बंगरी, दुधौरा, जमुनी, थलही, टेंग्रहर, सिर्सिया लगायतका दुई दर्जन नदीहरुमा धेरै पानी वगिसकेको छ।

हाम्रो यस यात्रा नदीको पानीजस्तै वगिरहेको छ। परिवर्तन एक सत्य हो। सबैकुरामा परिवर्तन हुने गरेको छ। हाम्रो यस यात्राको क्रममा देशमा विभिन्न किसिमको परिवर्तन आइसकेको छ। हामीले आप्mनो यात्राको क्रममा देशमा भइरहेको ठूलो परिवर्तनलाई हेरेका छौं। देशमा संविधान जारी भएको देखेका छौं। यसक्रममा स्थानीय सत्तामा ठूलो परिवर्तन हेरेका छौं। देशमा संघीय शासन हेरेका छौं। यति परिवर्तनको विचमा अझै पनि परिवर्तनको क्रम रुकेको छैन। परिवर्तनवाहेक सबैकुराको परिवर्तन हुनेछ।

हाम्रो यात्रा जारी रहेको छ। यात्राको क्रम भविष्यमा समेत जारी रहने छ। समाजमा रहेको विकृतिलाई उजागर गरी सो विकृति विरुद्ध जागरण ल्याउन हाम्रो कलम चलिरहनेछ। भ्रष्टाचारको विरुद्ध हाम्रो कलम सशक्त रुपमा चलिरहनेछ। यो हाम्रो प्रतिबद्धता हो। आवाजविहीनहरुको आवाजको रुपमा हाम्रो कलम चलिरहनेछ। हाम्रो जारी यात्रामा सघाउनेहरु प्रति हामी कृतज्ञ छौं।

हामीलाई साथ दिने विज्ञापन दाता, शुभेच्छुक, पत्रकारहरुप्रति हामी आभारी छौं। हामी पाठकहरुप्रति आभारी छौं। साथै हाम्रो गल्ति देखाउने गल्तिलाई सच्चाउन प्रेरित गर्नेहरुप्रति हामी कृतज्ञ छौं। हाम्रो यात्रालाई नजिकबाट नियालिरहेका सचेतवर्ग, नागरिक समाज, राजनीतिक दल, नेतृत्ववर्ग, जनप्रतिनिधि, कर्मचारी, समाजको सबैवर्गप्रति हामी आभारी र कृतज्ञ छौं। हाम्रो यात्रा जारी रहने प्रतिबद्धता छौँ ।

प्रकाशक तथा प्रधान सम्पादक
श्यामबाबु प्रसाद यादव

Leave a review