कलैया । जेनजीको विरोध प्रदर्शनलाई दृष्टिगत गर्दै बारामा मंगलबार दिउसो दुई बजेदेखि जिल्ला प्रशासन कार्यालय बाराले कलैया तथा जितपुर सिमरा उपमहानगरपालिकामा लागु हुने गरी निषेधाज्ञा ( कर्फ्यु) जारी गरेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले एक सूचना जारी गरी दुई बजेदेखि बेलुका आठबजे सम्म अर्थात छ घण्टाको लागि कर्फ्यु आदेश जारी गरेका हुन्।
स्थानीय प्रशासन ऐन २०२८ को दफा क बमोजिम सो आदेश जारी गरिएको हो। जारी गरिएको आदेश बमोजिम कलैया उपमहानगरपालिकाको चार किल्ला तोकी सो सीमानाभित्र तथा जितपुर सिमरा उपमहानगरपालिकाको तोकिएको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको जुलुश, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी भएको हो।
सो आदेश पूर्वमा पसाहा खोला, पश्चिममा गण्डक नहर, उत्तरमा बडहर्वा चोक, दक्षिणमा दुर्गा उच्च माध्यमिक विद्यालय एवम् गण्डक नहर देखि पथलैया सडक खण्ड राजमार्गको दायाँ बायाँ दुई सय मिटर सम्म यो आदेश प्रभावी हुनेछ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कु्टनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जनाइएको छ।

