वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार साँझ दुई समूहबीचको झगडाका क्रममा गोली चल्दा एक किशोर घाइते भएका छन् ।
घाइते हुनेमा छिपहरमाई गाउँपालिका–३ झलमहियाका १६ वर्षीय गोलु आलम धुनिया रहेका छन् । उनको तिघ्रामा गोली लागेको र हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुदीपराज पाठकले भिस्वा बजारस्थित गाउँपालिका कार्यालय पछाडिको सडकमा भएको झगडाका क्रममा गोली चलेको पुष्टि गरेका छन् ।
घटनाको कारण र गोली प्रहार गर्ने व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन । प्रहरीले गोली प्रहारमा संलग्नको खोजी तीव्र बनाएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी रहेको छ ।

