Sajhedari Daily
Latest News from Nepal

महागढीमाई नगरपालिकाद्धारा नवनिर्मित वेस क्याम्प भवन हस्तान्तरण

श्रीकान्त गुप्ता /
बर्षौदेखि दुःख पीडा झेल्दै आएका सशस्त्र प्रहरी बललाई नवनिर्मित वेस क्याम्प भवन हस्तान्तरण गरिएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ मा निर्माण भएको उक्त सुरक्षा बेस क्याम्प भवनको उदघाटन गरिएको छ ।
विहिवार आयोजित एक कार्यक्रमवीच महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति रबिन राज कर्णजितलाई भवनको साँचो हस्तान्तरण गर्दै उद्घाटन गरेका छन ।

नगरपालिकाको करिब २८ लाख आर्थिक सहयोगमा नवनिर्मित भवनमा पांच कोठा , ग्यारेज रुम , तीन वटा शौचालय तीन वटा पोष्ट रहेका छन । शसस्त्र प्रहरी बेस क्याम्पको भवनको अभावमा प्रहरीहरुले धेरै दिन देखि दुःख भोग्दै आईरहेका थिए ।
सार्बजनिक जग्गामा नवनिर्मित भवन बेस क्याम्पको नाममा दर्ता गरेको नगरप्रमुख यादवले बताएका छन । शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको भुमिका पनि सराहनीय रहेको नगरप्रमुख यादवले जनाए ।

नगर क्षेत्रका गढीमाई मन्दिर, पसाहा चेक प्वाइन्ट, हुलाकी राजमार्गमा हुने क्रियाकलापमा सेवा पुग्न सक्ने हिसाबले बेस क्याम्पको स्थापना गरिएको नगरप्रमुख यादवले बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहको प्रमुख आतिथ्यमा र सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति रबिनराज कर्णजितको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।