सिमरा । गते भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण क्षति पुगेको सिमरास्थित ईलाका प्रशासन कार्यालयलाई सूर्य नेपाल प्रालिले आवश्यक प्राविधिक सामाग्री सहयोग गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्य नेपालले कार्यालयलाई दुई थान कम्प्युटर, दुई थान ल्यापटप, दुई थान प्रिन्टर र एक थान स्क्यानर सहयोगस्वरूप प्रदान गरेको हो। कम्पनीका प्रतिनिधि टोलीले सो सामग्रीहरू कार्यालयका प्रमुख राजेन्द्र प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए।
प्रमुख कडेलले तोडफोडका कारण सूचना प्रविधिसम्बन्धी उपकरण नष्ट भएपछि नागरिकता वितरण लगायतका सेवा अवरुद्ध बनेको उल्लेख गर्दै सूर्य नेपालको सहयोगले कार्यालयको सेवा पुनः सुचारु गर्न ठूलो मद्दत पुगेको बताए।
उनले संस्थाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा राखे।सूर्य नेपालका उद्योग प्रबन्धक सुरेशकाजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कठिन समयमा स्थानीय प्रशासनलाई सघाउन पाउँदा खुसी लागेको बताए।
उनका अनुसार, सहयोगका उपकरणले सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा सूर्य नेपाल प्रालिका आशिष अधिकारी, यज्ञबहादुर आले, शेषराज अधिकारी तथा ईलाका प्रशासन कार्यालयका साविर अंसारी लगायतको उपस्थित थियो ।


