फतुवा विजयपुरका शिक्षकहरूको चेतावनी : असोज २८ भित्र तलब–भत्ता नपाए अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा

Om Prakash Yadav
290 पाठक संख्या

रौतहट । तलवभत्ता पाउनुपर्ने माग गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिकाका सामुदायिक विद्यालयहरुका शिक्षकहरुले आज नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

विजयादशमीमा समेत आफूहरुले तलव नपाएको र अब दीपावली तथा छठ पर्व आउन लागेको भएपनि फतुवा विजयपुर नगरपालिकाले अझै तलव निकासा गर्न कुनै छाँटकाँट नदेखाएको भन्दै नगरपालिका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले आज नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

तिहार पर्वको मुखमा समेत तलब र भत्ता नपाएको गुनासो गर्दै उनीहरुले छठ पर्व भित्रमा तलवभत्ता पाउनुपर्ने माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले चाँडै तलब उपलब्ध नगराए अनिश्चितकालीन रूपमा विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

२०८२ साउनदेखि हालसम्म फतुवा विजयपुर नगरपालिका अन्तर्गत कार्यरत रहेका सामुदायिक विद्यालयका करिव तीन सय शिक्षक कर्मचारीहरुले तलवभत्ता पाउन सकेका छैनन्।

बडादशैं जस्तो पर्वमा समेत तलवभत्ता पाउन नसकेको र अब दीपावली तथा छठ पर्व आउन लाग्दा पनि अझै तलव दिने कुनै छाँटकाँट नदेखिएकोले आफूहरु बाध्य भएर ज्ञापनपत्र बुझाएको प्रधानाध्यापक बुनिलाल यादवले बताए । दशैजस्तो पर्वमा समेत तलवभत्ता दिन नसक्दा आफूहरुलाई ठूलो आर्थिक समस्या उत्पन्न भएको उनले बताए ।

पर्सी असोज २८ गतेसम्म नगरपालिकाले आफूहरुको खातामा तलवभत्ता नपठाए असोज २९ गते बुधवारदेखि अनिश्चितकालीन नगरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरी आन्दोलनमा उत्रने शिक्षकहरुले चेतावनी दिएको ज्ञापनपत्रमा उल्लेख छ।

यसैबीच ज्ञापनपत्र बुझ्दै फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले शिक्षक कर्मचारीहरुले तलवभत्ता तुरुन्त उपलब्ध गराउन आफू हरसम्भव प्रयासरत रहेको बताएका छन्। नगरपालिकाको खाता नै नखुलेका कारण शिक्षक सहित नगरका अन्य कर्मचारीलाई अझै तलबभत्ता खुवाउन नसकिएको प्रशासकीय अधिकृत यादवले बताए।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले खाता संचालन गर्न अख्तियारी नदिँदा कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले नगरपालिकाको अझै खाता खोल्न नसकेको उनले बताए । कार्यवाहक नगर प्रमुख खातुनले अख्तियारी दिन ढिलाइ गर्दा खाता संचालन नभएर शिक्षक कर्मचारीहरुको तलवभत्ता निकासा गर्न नसकिएको उनले बताए।

कार्यवाहक मेयर खातुनले सम्भवत भोलि नै खाता संचालनका लागि अख्तियारी दिने उनले बताए । उहाँले अख्तियारी दिनेबित्तिकै खाता संचालन हुने र खाता संचालन हुनेबित्तिकै शिक्षक कर्मचारीहरुको तलवभत्ता तुरुन्त उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए।

स्थानीय तहअन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले लामो समयदेखि नियमित तलब नपाएको र पालिकाले पटक–पटक आश्वासन मात्र दिँदै समस्या समाधान नगरेको गुनासो गरेका छन्।

ज्ञापनपत्रमार्फत शिक्षकहरूले यस्तो संवेदनशील समयमा पनि राज्यले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्। “हामी शिक्षकमात्र होइनौं, समाजको भविष्य निर्माण गर्ने आधार हौं। तर, हाम्रो जीवन यापन नै संकटमा परेको छ,” एक शिक्षकले भने।

ज्ञापनपत्र बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै शिक्षक सुबोध यादवले भने, “हामी शिक्षा प्रणालीलाई बन्द गर्न चाहँदैनौं। तर जब शिक्षक आफैँ आर्थिक पीडामा छन् भने कक्षा कोठामा ध्यान केन्द्रित गर्न सक्दैनन्।”

यदि असोज २८ गतेसम्म शिक्षकहरुको माग पूरा भएन भने शिक्षकहरूले असोज २९ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने, प्रदर्शन तथा धर्ना कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। यस प्रकारको आन्दोलनले हजारौं विद्यार्थीको पढाइमा असर पार्ने देखिएको छ।

तसर्थ, सम्बन्धित निकायले समस्या समाधानका लागि तत्काल पहल गर्न आवश्यक छ। पर्वको बेलामा पनि तलब नपाउनु शिक्षकमाथिको अन्याय मात्र नभई शिक्षा प्रणालीमै प्रश्न उठाउने विषय हो।

Leave a review

This will close in 0 seconds