कोल्हबीमा वन-प्रहरीको संयुक्त छापा : बन्दुक र वन्यजन्तुका अंगसहित काठ बरामद

रञ्जन यादव
42 पाठक संख्या

कोल्हवी। बाराको कोल्हबी नगरपालिका–२ स्थित कोल्हबी बाँध आसपासको एक घरबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग, सिकारमा प्रयोग हुने पासो र अवैध काठ बरामद गरेको छ।

कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत कृष्ण पटेलको नेतृत्वमा वन सुरक्षाकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राम बिनय दासको घरमा खानतलासी गर्दा उक्त सामग्री फेला पारेको हो।

वन कार्यालयका अनुसार घरबाट दुई थान भरुवा बन्दुक, हरिणको छाला, पासोका रूपमा प्रयोग हुने चार थान डोरीको जाल र धनेश चराको चुच्चो बरामद भएको छ। त्यसैगरी घर परिसरमा लुकाएर राखिएको अवस्थामा विभिन्न प्रजातिका चिरान काठसमेत भेटिएको छ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले २८ थान चिरान काठ र एक थान गोलिया गरी करिब ११ क्युफिट काठ बरामद भएको जानकारी दिनुभयो।

बरामद भएका सामग्रीको प्रकृति हेर्दा घरमा वन्यजन्तुको अवैध सिकार तथा काठको गैरकानुनी भण्डारण हुने गरेको हुन सक्ने आशंका गरिएको वन कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र घरधनीसहित घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको खोजी भइरहेको कार्यालयले जनाएको छ।

वन कार्यालयले बरामद बन्दुक, वन्यजन्तुका अंग, पासो र काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा राखेको छ। घटनामा संलग्न व्यक्तिमाथि वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने अधिकारीहरूले बताएका छन्।

वन्यजन्तुको अवैध सिकार, संरक्षित वन्यजन्तुका अंगको कारोबार तथा अनुमति बिना काठ काट्ने र भण्डारण गर्ने गतिविधिमाथि निगरानी बढाइएको वन कार्यालयले जनाएको छ।

Leave a review