तिहार र छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन पर्सामा सुरक्षा मापदण्ड लागू

साझेदारी दैनिक
276 पाठक संख्या

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दूहरुको महान चाड मनाउन कडा सुरक्षा मापदण्ड तय गरेको छ। नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षामूलक र उल्लासमय वातावरणमा सम्पन्न गर्नका उसले यस्तो मापदण्ड जारी गरेको हो।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आम नागरिकलाई तोकिएका नियमहरूको कडाइका साथ पालना गर्न भनिएको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार एक सूचना जारी गर्दै पटका ओसारपसार, बिक्री वितरण र प्रयोग पूर्ण रूपमा निषेध गरिएको जनाएका छन्।

पटकाको ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, सामाजिक भय र आगलागीको जोखिमलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको हो। देउसी–भैलो कार्यक्रमहरू राति ९ बजेपछि खेल्न वा खेलाउन नपाइने व्यवस्था गरिएको छ। निर्धारित समयपछि सञ्चालन हुने कार्यक्रमहरूमा तत्काल कारबाही गरिने सूचनामा चेतावनी दिइएको छ।

चाडपर्वका बेला हुने जुवातास गतिविधिले परिवारको आर्थिक अवस्था कमजोर पार्ने जनाइएको छ। सामाजिक झगडा बढाउने भएकाले त्यस्तो कार्य नगर्न र नगराउन पनि प्रशासनले आग्रह गरेको छ।

छठ पर्वको सन्दर्भमा, नदी, ताल, तलाउमा हुने पूजापाठबाहेक अन्य सार्वजनिक मेला वा कार्यक्रमहरू राति १० बजेभित्र सम्पन्न गर्न सूचामा भनिएको छ। मेला र पर्वको अवसरमा मादक पदार्थ सेवन नगर्न भनिएको छ। स्वास्थ्यलाई ध्यानमा राख्दै चिल्लो, गुलियो तथा माछामासु जस्ता पदार्थको सीमित सेवन गर्न सुझाव दिइएको छ।

अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालन नगर्न पनि सूचनामा निर्देशन गरिएको छ। नियमको उल्लङ्घन भएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

शान्ति सुरक्षासम्बन्धी कुनै समस्या वा घटना देखिएमा तत्काल नजिकको प्रहरी निकाय, नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सो सूचनामा सर्वसाधारणसंग अनुरोध गरिएको छ।

Leave a review