कलैया । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा मंगलबार कलैयामा दीप प्रज्वलन गरिएको छ। जेनजी युथ अफ बाराको आयोजनामा कलैयास्थित भरत चोकमा मौनधारणसहित दीप प्रज्वलन गरी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो।
जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा भएको कार्यक्रममा सहभागी युवाहरूले केही समय मौनधारण गरेपछि सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा सहभागीहरूले सहिदहरूले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुधारको मुद्दालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेयले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै जेनजी पुस्ता आन्दोलनमा होमिएको बताए। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदानलाई राज्य र समाजले सधैँ स्मरण गर्नुपर्ने उनको भनाइ थियो।
उनले जेनजी युवाहरू आन्दोलनमा सडकमा उत्रिने मात्र नभई समाज परिवर्तनका लागि सामाजिक गतिविधिमा समेत सक्रिय रहेको बताए। भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक सुधार र समाज विकासका कामलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए।
दीप प्रज्वलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय नेतृत्व परिषद् सदस्य डा. सुशील साह, कलैया उपमहानगरपालिका नगर समितिका सभापति बब्लु गिरी, सौरभ चौलागाईं, सञ्जय चौधरीलगायत जेनजी युवा तथा विद्यार्थीहरूको सहभागिता थियो। जेनजी युथ अफ बाराका पदाधिकारी तथा सदस्यहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।


