कलैया । मधेस प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख सहित नौ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कृषि विकास निर्देशनालय धनुषाका प्रमुख रत्नकुमार झासहित नौ जनाविरुद्ध ६ लाख ९० हजार ६ सय ५७ रुपैयाँ बिगो दावी सहित विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो।
कृषि सडक निर्माणमा अनियमितता गरेको आरोपमा निर्देशनालय प्रमुख झा, कृषि अर्थ विज्ञ–योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी विरुद्ध मुद्दा दायर भएको छ ।
यसैगरी सोही कृषि सडक निर्माणमा महादेवा गाउँपालिका–२ का वडाध्यक्ष जगदीश मण्डल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, समितिका सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव विरुद्ध पनि मुद्दा दायर भएको हो ।
यस्तै सोही मुद्दामा निर्देशनालयका परामर्शदाता किरो इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र त्यसका संचालक हरिषकुमार सिंहलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरीएको अख्तियारका प्रवक्ता राजेन्द्र कोइरालाले जानकारी गराएका छन ।
प्रमुख झा, योजना प्रमुख साह तथा लेखा अधिकृत अधिकारीविरुद्ध ६ लाख ९० हजार ६ सय ५७ रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियारले सो बमोजिमको जरिवाना र कैद सजाय माग गरेको छ ।
यसैगरी सोही मुद्दामा दोषी देखिएका वडाध्यक्ष मण्डल, उपभोक्ता समितिका तीन जना तथा परामर्शदातालाई भने छुट्टाछुट्टै बिगो मागदाबी गरिएको प्रबक्ता कोईरालाले जनाए ।
सप्तरीको महादेवा गाउँपालिका–२ मा आर्थिक वर्ष २०७७/७८ को योजना अन्तर्गत सोही स्थानको दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माणमा मिलेमतो गरि भ्रष्टाचार गरेको अख्यिारको दावी छ ।

