कलैया : बाराको महागढीमाई नगरपालिका–२ मैनी टोलमा लागु औषध दुरुपयोग रोकथामको लागि सामाजिक नियम लागु भएको छ ।
बढ्दै गएको लागुऔषध सेवन र त्यसका कारण देखा परेका नकारात्मक सामाजिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ सामाजिक नियम लागू गरिएको वडा अध्यक्ष विश्वनाथ प्रसाद कुशवाहाको अध्यक्षतामा बसेको बैठकले यो नियम लागु गरेको हो ।
बैठकमा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सुधार, अनुशासन र सचेतनाको उद्देश्यसहित नयाँ सामाजिक नियम निर्माण गरी कार्यान्वयनमा ल्याएको यस नियम अनुसार राति ८ बजेपछि युवाहरूलाई अनावश्यक रूपमा घर बाहिर हिँड्न रोक लगाइएको छ। जुवातास खेल्न प्रतिबन्ध लगाइएको छ।
किराना पसलमा रक्सी तथा लागुऔषध बिक्री गर्न निषेध गरिएको छ। नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई सामाजिक दण्डको व्यवस्था गरिएको छ। समाजमा अवाञ्छित कार्य गरेमा समुदायकै अगाडि सच्याउने प्रणाली लागू गरिएको वडा अध्यक्ष कुशवाहाले जनाए। दण्ड होइन, यो सुधार हो, उनले भने।
यस नियमको प्रभावकारी कार्यान्वयनका लागि अभिभावक, समुदाय र युवासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी वडाले गरेको छ। लागुऔषधको लत र त्यसबाट उत्पन्न समस्या हुन नदिनका लागि सामाजिक नियमको आवश्यकता महसुस गरी यस्तो नियम लागू गर्नुपरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिए।


