कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा सिमावर्ती नाकाका कारोबारीहरुले सोमबार पत्रकार सम्मेलन गरेका छन । उनीहरुले सिमा नाकामा रहेको सुरक्षाकर्मीहरुले भारतबाट मालसमान ल्याउन नदिएको भन्दै कारोबारीहरुले मटिअर्वामा पत्रकार सम्मेलन गरेका हुन ।
सोही वडाका जितेन्द्र कुमार साहले शनिबार साँझ भारतबाट माला लिएर भन्सार गराउन जादा चेकजाँच स्थलकै नजिक सशस्त्र प्रहरीले जबर्जस्ती सामान खोज्दा आफू मोटरसाइकलबाट लडेको दाबी गरेका छन् । उनका अनुसार सशस्त्र प्रहरीले माला खोसेपछि स्थानीयहरुले ढुङ्गामुडा गरेको थियो । त्यही क्रममा सशस्त्र प्रहरीले प्रहार गरेको लाठीले आफ्नो टाउको फुटेको आरोप पनि उनले लगाएका छन्।
त्यस्तै, सोही वडाका अर्का स्थानीय फुलसरिफ मियाँ दर्जीले सोमबार भारतबाट नेपालतर्फ केरा लिएर आउँदा सशस्त्र प्रहरीले भारतीय केरावालालाई सहजै पास दिएको तर आफूबाट भने पैसा मागेको आरोप लगाएका छन् । पैसा नदिएपछि प्रहरी जवानले आफ्नो केरा भुइँमा खसालेको बताएका छन्।
यता सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) धनबहादुर रानाका अनुसार घरायसी प्रयोग तथा बिहेबारीका लागि भारतीय बजारबाट साना सामग्री ल्याउन दिने गरिएको छ ।
आइतबार साँझ जितेन्द्र साहले चोरबाटो माला लिएर प्रवेश गर्ने क्रममा प्रहरीले चेकजाँच स्थलमै नियन्त्रणमा लिने क्रममा ढुङ्गामुडा सुरु गरेको बताए। उक्त घटनामा साहको टाउको फुटेको र सोही झडपमा सशस्त्र प्रहरीका ६ जना जवान घाइते भएको डिएसपी रानाले जानकारी दिए। डिएसपी रानाका अनुसार यदि कसैले पैसा मागेको प्रमाण छ भने लिएर आउनुस्, तत्काल कारबाही गर्छौँ,”उनले भने ।
भारतबाट अबैध रुपमा नेपाल मालसमान ल्याउने मालसमानहरुलाई सिमानाकामा खटिएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन थालेपछि कारोबारीहरुले पत्रकार सम्मेलन गरेका हुन । भारतीय मालसमानहरुको भन्सार गराएर नेपाल भित्रयाउन डिएसपी रानाले आग्रह गरेका छन।

