बारामा चिनियाँ बेहुलासहित तीन जना पक्राउ

साझेदारी दैनिक
864 पाठक संख्या

कलैया । बारा प्रहरीले चिनियाँ बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

बाराको करैयामाई गाउँपालिका–१ हरैयामा बुधवार मध्यराति एक चिनियाँ नागरिकले नेपाली मुस्लिम समुदायकी नाबालिकसँग विवाह गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले बेहुला–बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त विवाह नाबालिकासँग हुन लागेको पुष्टि भएपछि समयमै दखल दिई विवाह रोकिएको हो। नियन्त्रणमा परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूको नाम भने सार्वजनिक गरिएको छैन।

प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको पाइएको छ। सो गाउँ र आसपासका क्षेत्रमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिरहेको सुराकी प्रहरीलाई मिलेपछि यस विषयमा गहिरो अनुसन्धान चलाइएको छ। स्थानीयका अनुसार गत एक वर्षमै त्यही बस्तीमा चिनियाँ नागरिकसँग तीनवटा विवाह भइसकेका छन्।

वडाध्यक्ष सोनालाल साहका अनुसार चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै आएका थिए। कानुन अनुसार पुरुषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ। तर पक्राउ परेकी युवतीको उमेर १८ वर्ष मात्र रहेको उनले बताएका छन्।

Leave a review