कलैया । गैर पत्रकारलाई प्रोत्साहित गरेको भन्दै नेपाल प्रेस युनियन बाराले पत्रकार महासङ्घ,बारा शाखाका अध्यक्ष रमेश सुवेदीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियन बाराका अध्यक्ष श्यामबाबुप्रसाद यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो भएको जनाएका हुन्।
विज्ञप्तिमा महासंघ बाराका अध्यक्ष सुवेदीले देखाएको गैर–जिम्मेवार व्यवहारप्रति नेपाल प्रेस युनियन बाराको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो। नेपाल पत्रकार महासङ्घको मूल उद्देश्य पत्रकारबीच एकता, पेशागत मर्यादा, निष्पक्षता र प्रेस स्वतन्त्रताको संरक्षण तथा संवद्र्धन गर्नु हो। तर, अध्यक्ष सुवेदीले निर्वाचित भएदेखि बारामा पत्रकारिताको साख घटाएको विज्ञप्तिमा यादवले लेखेका छन्।
पछिल्लो दिनहरूमा सुवेदीले पत्रकारहरूबीच अनावश्यक विभेद र गुटगत विभाजन सिर्जना गरेको जनाइएको छ। गैर–पत्रकार व्यक्तिलाई प्रोत्साहन गर्दै पत्रकारिताको मर्यादामा हस्तक्षेप गर्ने गरेको जनाइएको छ। महासङ्घलाई नियमविपरीत र गैर–पारदर्शी ढङ्गले सञ्चालन गरेको जनाइएको छ। यस्ता कार्यहरूले सम्पूर्ण पत्रकार समुदायको छवि र महासङ्घको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ।
सत्य, निष्पक्षता र पत्रकारिताको नैतिक नियममा विश्वास राख्ने नेपाल प्रेस युनियन बाराले पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको गतिविधिप्रति कडा आपत्ति प्रकट गर्दछौँ, विज्ञप्तिमा लेखिएको छ।
महासङ्घ जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने व्यक्तिबाट जिम्मेवार, पारदर्शी तथा समावेशी व्यवहार अपेक्षित हुन्छ, तर वर्तमान गतिविधिले संस्थाको आन्तरिक मर्यादा र अनुशासनलाई नै कमजोर बनाएको देखिन्छ। अध्यक्ष सुवेदीले देखाएको गैर–जिम्मेवार आचरणका बारेमा तुरुन्त आत्मसमीक्षा गर्न,महासङ्घको कार्यशैली पारदर्शी, नियमसंगत र सबै पत्रकारको हितअनुसार सञ्चालन गर्न,पत्रकारहरूमाथि गरिएको विभेद रोक्न नेपाल प्रेस युनियन बारा दृढतापूर्वक माग गर्दछौँ, यादवले विज्ञप्तिमा लेखेका छन्।
यस्ता गतिविधि दोहोरिएर जाने हो भने हामी बाध्यतावश बारा पत्रकारको हितका लागि कानुनी, संस्थागत तथा संघर्षका चरणहरू अघि बढाउन विवश हुने युनियनले विज्ञप्तिमा लेखेको छ।पत्रकारिताको मर्यादा, एकता र स्वतन्त्रता रक्षा सामूहिक जिम्मेवारी रहेको स्मरण गराइएको छ।


