कलैया : देवताल गाउँपालिकाको सहयोग र नयाँ समाज उत्थान केन्द्र महागढीमाई नगरपालिका ६ बाराको सहकार्यमा बाल विवाह र दाइजो प्रथा सम्बन्धी जनचेतनामूलक कार्यक्रम बाराको देवताल गाउँपालिकामा बुधबार सम्पन्न भएको छ ।
बाल विवाह र दाइजो प्रथा सम्बन्धी पाँच दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको नयाँ समाज उत्थान केन्द्र महागढीमाई नगरपालिका ६ बाराका अध्यक्ष विनोद पडितले बताए। मंसिर २० गते देखि २४ गतेसम्म छ चरणमा सम्पन्न भएको उक्त जनचेतनामूलक कार्यक्रममा तीन सय भन्दा बढी किशोर किशोरी तथा महिलाहरु सहभागि भएका थिए। देवताल गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष मनरुदिनमिया ठकुराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
समाजमा बाल विवाह र दाइजो प्रथा कुप्रथाको रुपमा रहेको ठकुराईले बताए। बाल विवाह र दाइजो प्रथा उन्मूलनको लागि सबै मिलेर लाग्नु पर्छ उनले भनेका छन्। अशिक्षा, परम्परागत सामाजिक संस्कार, अन्धविश्वास, बाल विवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेद जस्ता कारणले बाल विवाह भइरहेको हो। विवाह भनेको कुनै कारोबार तथा लेनदेनको विषय होइन, उनले भने। बेहुला पक्षले पैसा कमाउने तथा सम्पत्ति आर्जन गर्ने अवसरका रूपमा लिइनु हुँदैन । यो सृष्टिलाई निरन्तरता दिने तथा महिला र पुरुषको मिलन गराउने प्रक्रिया हो।
दाइजो प्रथा जस्तो कुप्रथा हटाउन सकिएमा महिलामाथि हुने शारीरिक तथा मानसिक हिंसा धेरै मात्रामा घट्ने उनले जनाए। छोरीहरूलाई राम्रो शिक्षादीक्षा दिएर आत्मनिर्भर बनाउन उनले सुझाव दिए। यसो गरिएमा मात्र सभ्य, संस्कारयुक्त तथा हिंसारहित समाज निर्माणमा सघाउ पुग्ने उनले जनाए। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न सक्ने शिक्षा तथा असल संस्कार दिए पुग्दछ भन्ने मान्यता समाजमा स्थापित गर्नु आवश्यक रहेको उनको कथन थियो। कार्यक्रममा देवताल गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख ललन पटेल, नेपाल प्रहरीका लालजीप्रसाद यादव, वडा सचिव पुरुषोत्तम चौरसिया, वडासदस्य जैबुन खातुन, पत्रकार नुरआलम बादशाह, आर्यन यादव लगायतको उपस्थिति थियो।

