रौतहट : रौतहट कटहरियामा नगरपालिका–८ डुमरियामा सञ्चालित बाबा बैजूनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज यस सिजनका लागि अबको एक हप्तापछि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
उखु क्रसिङ सिजन सुरु हुनुअघि सोमबार उद्योग परिसरमा विधिवत रूपमा डोंगाको पूजा सम्पन्न गरिएको छ । उद्योगपति बैजू प्रसाद बाबराले डोंगाको पूजाआजा गर्दै यस वर्षको उखु क्रसिङ सिजनको शुभारम्भ गरिएको जानकारी दिए ।
डोंगाको पूजापाठ सम्पन्न भएसँगै अबको करिब एक हप्तापछि उद्योग सञ्चालनमा आउने उद्योगपति बाबराले बताए। उनका अनुसार यस सिजनको उखु क्रसिङका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने आगामी १० दिनभित्र मिल पूर्ण रूपमा सञ्चालनमा ल्याइने योजना रहेको जनाए ।
उद्योगले यस वर्ष १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। बाबा बैजूनाथ सुगर उद्योगले गत वर्ष करिब पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो। यसअघि उद्योगको दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पु¥याइएको उद्योगपति बाबराले जानकारी दिएका छन ।

