रौतहट-१ बाट योगेन्द्र राय यादवको एकल नाम सिफारिस

Om Prakash Yadav
626 पाठक संख्या

रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि पूर्व मन्त्री योगेन्द्र राय यादवको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जसपा नेपाल रौतहटले राजदेवी नगरपालिका–१ पथरा पोखरीमा आयोजना गरेको बृहत् क्षेत्रीय भेलाबाट यादवको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

भेलाबाट गठित प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति, क्षेत्र नं. १ रौतहटले नेता यादवको एकल नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्रीसमेत रहेका यादवको संघीय सांसद पदका लागि एकल नाम सिफारिस भएपछि पार्टीभित्र उत्साह थपिएको छ। नेता–कार्यकर्तामा नयाँ ऊर्जा र आत्मविश्वास देखिएको जसपा नेताहरूले बताएका छन्।

यसैगरी, रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ प्रीति रमन, ललन यादवलगायतका नामहरू पनि सिफारिस गरिएको छ। भेलाबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति, क्षेत्र नं. १ रौतहटका अध्यक्षमा नेता हरिनारायण प्रसाद यादव सर्वसम्मत रूपमा चयन भएका छन्।

माधवनारायण नगरपालिका–६ माधोपुर निवासी हरिनारायण प्रसाद यादवको अध्यक्षतामा २५ सदस्यीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति गठन गरिएको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले जानकारी दिए।

जिल्ला अध्यक्ष यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामकिशोर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त क्षेत्रीय भेलामा जसपा नेपालका नेता–कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

रौतहट क्षेत्र नं. १ बाट योगेन्द्र राय यादवको नाम प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस भएसँगै यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ।

विगतमा प्रदेश सांसद रहँदा यादवले विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै जनताको मन जित्न सफल भएको स्थानीयको भनाइ छ।

निरन्तर जनताको बीचमा रहने, हरेक सुख–दुःखमा साथ दिने र जनहितका मुद्दामा दृढतापूर्वक उभिने नेता भएकै कारण यादव यस क्षेत्रमा लोकप्रिय मानिन्छन्।

त्यसैले आगामी निर्वाचनमा उनको जित सहज हुने आँकलन गर्न थालिएको छ भने उनको सामुने सम्भावित प्रतिस्पर्धीहरू टिक्न कठिन हुने चर्चा समेत सुरु भएको छ।

Leave a review