कलैया । बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा अन्दाजी १८ वर्षीय रबिन कुमार सहनीमाथि शनिबार साझ भएको चक्कु प्रहार प्रकरणमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका -५ बरेवा टोल निवासी इमताज अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पीडितका बुवाले दिएको जाहेरीको आधार उक्त युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीलाई ज्यान मार्ने उधोग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न आरोपितहरुको खोजी कार्य भईरहेको छ ।
कलैया–४ स्थित कलैया गाउँ आफ्नै घर अगाडि सहनीमाथि चक्कु प्रहार भएको थियो । आक्रमणकारीहरूले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका सहनीको उपचार नेशनल मेडिकल कलेज बिरगंजमा भइरहेको परिवारजनले बताएका छन् ।

