कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिकामा निर्माण सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्रको नवनिर्मित भवन शनिवार एक कार्यक्रमवीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ।
संघीय सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्य र कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न समारोहमा भवन औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री डा. परियारले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। त्यस अवसरमा बोल्दै उहाँले भन्नुभयो । “यो भवन अब कोल्हबी नगरपालिकाको जिम्मामा छ। आजको मितिदेखि यसको सञ्चालन, संरक्षण र सेवा प्रवाहको सम्पूर्ण दायित्व नगरपालिकाले नै वहन गर्नेछ ।”
मन्त्री परियारका अनुसार विश्व बैंकको ऋण सहयोगमा २ करोड ४० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। उहाँले स्थानीय तहबाट कृषि तथा पशुपन्छी सेवालाई अझ प्रभावकारी बनाइ किसानको आयआर्जन बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख रामप्रसाद चौधरीले सेवा केन्द्रलाई प्रभावकारी बनाउन जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै भन्नुभयो । “भवन मात्रै बनेर किसानको समस्या समाधान हुँदैन, यहाँ स्थायी दरबन्दीका पशु चिकित्सक र प्राविधिक तुरुन्त खटाइनुपर्छ।”
कोल्हबी नगरपालिका माछा उत्पादनको प्रमुख क्षेत्र रहेको उल्लेख गर्दै नगर प्रमुख चौधरीले माछा किसानले भोग्दै आएका रोग, बजार र प्रविधिसम्बन्धी समस्याको पहिचान गरी समाधान खोज्न मन्त्रालय तथा सरोकारवाला निकायसँग पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सोही अवसरमा नगरपालिकाका किसानहरूको हकहितका लागि तयार गरिएको ज्ञापनपत्र पनि उहाँले मन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।
उद्घाटन समारोहमा कोल्हबी नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजहरन चौधरी, वडा नं. २ का अध्यक्ष गोपाल अधिकारी, वडा नं. ९ का अध्यक्ष दलबहादुर चौधरी, तामागढी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र पनुहर, समाजसेवी हरिचन्द्र पनुहर, गोविन्द पौडेल, महेश साह, संजयकुमार चौधरी, पूर्व वडा अध्यक्ष बिरेन्द्र चौधरी, नगर उद्योग वाणिज्य संघ कोल्हवीका उपाध्यक्ष प्रेमनारायण चौधरी, नेपाल कम्युनिस्ट पार्टी कोल्हबी नगर कमिटीका अध्यक्ष रामचन्द्र साफी, पशु शाखा प्रमुख शम्भु पनुहर, श्री ने.रा.मा.वि. सपहीका प्रधानाध्यापक हरि पराजुली लगायत किसान तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा ग्रामीण विकास तथा आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश साहले स्वागत मन्तव्य राख्नुभएको थियो।

