पर्साको वीरगन्ज महानगर क्षेत्रमा बुधबारदेखी गएराति अवरुद्ध विद्युतको आपुर्ति सुचारु हुन समय लाग्ने नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ।
गएराति १ बजे वर्षासहित आएको हवाहुरीका कारण विभिन्न ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केही ठाँउको ट्रान्फर्मर पनि खसेपछि वीरगन्ज महानगरपालिका क्षेत्रमा विद्युत आपुर्ति सेवा अवरुद्ध छ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेका अनुसार, रातिको हवाहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ।
वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको हो। यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको थियो।
जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो। ठाँउ–ठाँउमा ढलेका पोल,तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र समाचार तयार पार्दासम्म प्राविधिकहरु त्यसमै लागेका छन्।

