आर्दशकोतवाल : शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार हो भन्ने सन्देशलाई आदर्श कोतवाल गाउँपालिका–२ का वडाध्यक्ष मनोज मेहताले व्यवहारमै उतारेका छन्। नेपाली काँग्रेसबाट निर्वाचित शिक्षा–प्रेमी वडाध्यक्ष मेहताले एमबीबीएस अध्ययनका लागि दलित कोटाबाट शतप्रतिशत छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी निराजन प्रसाद पासवानलाई नगद सहयोगसहित सम्मान गरेका छन्।
खजुरिया निवासी पन्नालाल हजराका छोरा पासवान कर्णाली मेडिकल कलेजमा १०० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट भएका हुन्। उनको शैक्षिक यात्रालाई थप सहज बनाउने उद्देश्यले आइतबार आयोजित विशेष कार्यक्रममा वडाध्यक्ष मेहताले आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन्। सो अवसरमा पासवानलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मेहताले समाजमा लामो समयदेखि दलित समुदायप्रति हुँदै आएको हेपाइ, अपमान र विभेदपूर्ण व्यवहारको कडा आलोचना गरे। “मेरो कार्यकालमा जात, धर्म, भाषा र समुदायका आधारमा हुने कुनै पनि किसिमको विभेद सह्य हुँदैन,” उनले भने, “दलित समुदायबाट एमबीबीएस जस्तो प्रतिष्ठित अध्ययनका लागि विद्यार्थी छनोट हुनु सम्पूर्ण समाजका लागि गर्वको विषय हो।”
वडाध्यक्ष मेहताले आफू निर्वाचित भएयता शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। सरकारी तथा गैरसरकारी शिक्षण संस्थासँग सहकार्य, विद्यालयको नियमित अनुगमन, व्यवस्थापन सुदृढीकरण, स्थानीय शिक्षा ऐन निर्माण, विद्यालय भवन निर्माण तथा स्तरोन्नतिका कारण शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको उनको भनाइ छ। “शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको संयुक्त प्रयासले यस्ता उपलब्धि सम्भव भएका हुन्,” उनले बताए।
स्थानीय समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता राकेश प्रसाद काइरीले वडाध्यक्ष मेहता निर्वाचित भएदेखि शिक्षा मात्र नभई स्वास्थ्य, विद्युतिकरण, सिँचाइ, धर्म–संस्कृति संरक्षण र भौतिक पूर्वाधार विकासमा समेत उल्लेखनीय काम भएको बताएका छन।


