जनकल्याण साकोसको २४ औ स्थापना दिवसमा स्वास्थ्य सेवा उपहार : ३१० जनाले लिए निःशुल्क सेवा

साझेदारी डेलि
254 पाठक संख्या

जीतपुर : जनकल्याण बहुउदेश्यीय सहकारी संस्था ले आफ्नो २४औं स्थापना दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। जीतपुरमा सम्पन्न उक्त शिविरमा नगरवासी, शेयर सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एल एस न्युरो जेनेरल हस्पिटल का डाइरेक्टर सावित्रा भण्डारी उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंक का शाखा प्रमुख बिलबर राजबंशी, पत्रकार रञ्जन यादव तथा मनोज कुमार साहलगायतको उपस्थिति रहेको थियो।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा मधुमेह जाँच, परामर्श सेवा, दाँत तथा आँखा परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो। दक्ष स्वास्थ्यकर्मीहरूको टोलीद्वारा सेवा दिइएकाले सहभागीहरू लाभान्वित भएका थिए। आयोजक संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादबका अनुसार शिविरबाट ३ सय १० जना सदस्य तथा सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा सेवा लिएका छन्।

प्रमुख अतिथि भण्डारीले स्थापना दिवसका अवसरमा सामाजिक हितका कार्यक्रम आयोजना गर्नु सहकारीको सकारात्मक पहलकदमी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले स्वागत मन्तव्य व्यक्त गर्दै स्थापना कालदेखि नै सदस्य तथा समुदायको हितलाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको बताउनुभयो।

कार्यक्रममा सचिव कपिलदेव प्रसाद यादब, कोषाध्यक्ष किरणप्रकाश गिरी, सदस्य विद्या महर्जन, मुनि कुमारी न्यौपाने, लेखा सुपरिवेक्षण समिति संयोजक श्याम कृष्ण सुबेदीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सह–प्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो।

Leave a review