बारा : नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनको आयोजनामा सूर्य नेपाल परिसरमा फागुन ११ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५ जना महिलासहित कुल ६३ जनाले रक्तदान गरेका छन्।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रमको उद्देश्य आसन्न निर्वाचनका क्रममा हुन सक्ने सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै आपतकालीन अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ। मजदुर नेता बेनी तिमल्सिनाका अनुसार निर्वाचनको समयमा आकस्मिक घटना बढ्न सक्ने भएकाले पूर्वतयारीस्वरूप रक्त संकलन गरिएको हो।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, वीरगञ्जको प्राविधिक सहयोग रहेको थियो। साथै, कम्पनी व्यवस्थापन पक्षले समेत आवश्यक समन्वय र सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ।
रक्तदान कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। निर्वाचनमा सहभागी राजनीतिक दलहरूलाई समेत सहकार्यका लागि आग्रह गरिएको भए पनि अपेक्षित सहभागिता हुन नसकेको जनाइएको छ। तथापि, आगामी दिनमा यस्ता मानवीय अभियानमा सबै पक्षको अझ व्यापक साथ र सहयोग रहने विश्वास व्यक्त गरिएको छ।

