निर्वाचनलाई लक्षित गर्दै बारामा मदिरा बिक्री-वितरणमा रोक

साझेदारी डेलि
263 पाठक संख्या

कलैया । यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय बाराले मदिरा निषेध गरेको छ। साथै उसले सीमा नाका बन्द गर्ने सम्बन्धी जानकारी दिएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आज एक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि शान्ति सुरक्षालाई दृष्टिगत गरी मदिरा निषेधको आदेश जारी गरिएको हो। आदेशको पालना नगरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ।

फागुन १५ गते शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि बारा जिल्ला भरी मदिरा लगायत सबै प्रकारका मादक पदार्थको ओसारपसार, विक्री वितरण र सेवन कार्य निषेध गरिएको सूचनामा उल्लेख छ। फागुन १८ गते सोमबार राति १२ः०० देखि फागुन २१ गते बिहीबार राति १२ः०० वजे सम्मलाई बारा जिल्लाका भारतीय सीमासँग जोडिएका सीमाना पूर्ण रुपमा बन्द हुने जानकारी सूचनामा दिइएको छ।

फागुन २० गते राती १२ः०० बजे देखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म अत्यावश्यक सेवाका एम्बुलेन्स, दुध तथा औषधी बोकेको सवारी साधन, खानेपानी ट्याङ्कर, खानेपानी तथा ढल मर्मत, दमकल, दूरसञ्चार सेवा, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, नम्बर प्लेटमा सी.डी. उल्लेख भएका कुटनीतिक नियोगको सवारी साधन र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको समेत सूचनामा जनाइएको छ।

Leave a review

This will close in 0 seconds