जीतपुर । बाराको सिमरामा ग्यास वान नेपाल प्रा.लि. पिलुवाको आयोजनामा ८ औँ ग्यास बिक्रेता भेटघाट कार्यक्रम शनिवार सम्पन्न भएको छ।
देशभरबाट आएका डिलर तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा व्यवसाय विस्तार, सेवा सुधार तथा उपभोक्ता सुरक्षाका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।
कार्यक्रममा कम्पनीका प्रबन्धक सरोजराज ढकालले अर्डर व्यवस्थापन, समयमै डेलिभरी, काठमाडौंमा शाखा विस्तारको योजना र ग्यासको गुणस्तर सुनिश्चितताबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले कम्पनीलाई थप प्रभावकारी र विश्वसनीय बनाउने लक्ष्यसहित सेवा विस्तारमा जोड दिइएको जानकारी गराए।
सिमरा स्थित क्लासिक होटलमा आयोजित उक्त भेटघाट कार्यक्रमममा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित भण्डारणबारे सचेतनामूलक जानकारी समेत प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी बिक्रेताहरूले आफ्ना अनुभव, समस्या र सुझाव राख्दै सेवा सुधारका लागि महत्वपूर्ण धारणा व्यक्त गरेका थिए।
कम्पनीका प्रबन्ध निर्देशक हिडेकी फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिक्रेता र कम्पनीबीचको सहकार्य अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। उनले बिक्रेताहरूलाई कम्पनीको मुख्य आधार मान्दै गुणस्तरीय सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। साथै, विश्वव्यापी इन्धन संकटका बाबजुद सरकारले निर्धारण गरेको मूल्यमै ग्यास बिक्री वितरण गर्न उनले जोड दिए।
कार्यक्रमको आकर्षणका रूपमा उत्कृष्ट प्रदर्शन गर्ने बिक्रेताहरूलाई सम्मान गरिएको छ। सबैभन्दा बढी ग्यास बिक्री गर्ने दुई बिक्रेतालाई जापान भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिएको छ। सो अवसर सर्लाही हरिवनका अजय साह र बयलबासका सरोज मैनालीले प्राप्त गर्ने भएका छन्, जसले बिक्रेताहरूमा उत्साह थपिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कम्पनीको गतिविधि तथा व्यवस्थापनसम्बन्धी जानकारी प्रोजेक्टरमार्फत प्रस्तुत गरिएको थियो।

