जीतपुर । बाराको जीतपुरस्थित गौशालाको नाममा रहेको सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाइएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत ६ लेन सडक नजिक रहेका अवैध संरचनामाथि कडाइ गरेपछि व्यवसायीहरू आफैं सक्रिय भएर पसल तथा संरचना हटाएका हुन्।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै वैशाख २ गतेसम्म अतिक्रमित संरचना हटाउन समयसीमा दिएको थियो। समयसीमाको अन्तिम दिन केहीले स्वेच्छाले हटाए पनि अटेरी गर्नेहरूका कारण नगरपालिकाको टोली डोजरसहित स्थलमा पुगेको थियो।
डोजर प्रयोगको चेतावनीपछि प्रारम्भिक प्रतिकार भए पनि नगर प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीको उपस्थितिमा अवस्था नियन्त्रणमा आएको थियो। त्यसपछि व्यवसायीहरूले आफ्ना संरचना आफैं हटाउन थालेका थिए।
अतिक्रमण हटाएसँगै मासु पसल, खाजाघर, कबाड संकलन केन्द्र, भेटेनरी पसल तथा गुट्खा–चुरोट र पेय पदार्थ बिक्री गर्ने पसलहरू पूर्ण रूपमा हटाइएको छ।
प्रभावित व्यवसायीहरूले उचित व्यवस्थापन, भविष्यमा सटर निर्माणमा प्राथमिकता तथा सोही स्थानमा पुनः व्यवसाय सञ्चालनको अवसर दिन माग गरेका छन्। उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

