रौतहटमा बोक्सीको आरोपमा एकल महिलामाथि अमानवीय कुटपिट, मलमुत्र खुवाउने एक पक्राउ

Om Prakash Yadav
58 पाठक संख्या

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एकल महिलामाथि अमानवीय व्यवहार गर्ने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने अन्दाजी ५५ वर्षीया एकल महिलामाथि स्थानीय केही व्यक्तिहरुले बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्नुका साथै मलमुत्र खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरेका हुन्।

पीडित महिलाले दिएको जाहेरी अनुसार स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरुले “यो बोक्सी हो, मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ” भन्ने आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए। आरोपितहरुले महिलामाथि सामाजिक अपमान हुने गरी अमानवीय व्यवहार समेत गरेका थिए।

घटनापछि पीडितले मिति २०८३ साल वैशाख २० गते इलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनामा संलग्नमध्ये कटहरिया नगरपालिका वडा नं. ९ निवासी फुदेनी माझीका छोरा अन्दाजी ३० वर्षीय शंकर माझीलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य जारी रहेको छ।

यस घटनाले समाजमा अझै पनि विद्यमान अन्धविश्वास, बोक्सी आरोप र महिला हिंसाको भयावह अवस्था उजागर गरेको छ। विशेषगरी एकल महिलामाथि हुने यस्ता दुर्व्यवहारले सामाजिक चेतना र कानुनी कार्यान्वयनमा थप कडाइ आवश्यक रहेको देखिएको छ।
नेपालमा बोक्सी आरोपसम्बन्धी कसुर कानुनतः दण्डनीय अपराध हो।

यस्ता आरोप लगाई कुटपिट, अपमान वा अमानवीय व्यवहार गर्ने व्यक्तिमाथि प्रचलित कानुन अनुसार कारबाही हुने व्यवस्था छ। प्रहरीले नागरिकलाई अन्धविश्वासको पछि नलागी कानुनी बाटो अपनाउन आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds