नक्कली लोगो राखेर गुणस्तरहिन कपडा विक्रीगर्ने उधोगलाई ३ लाख जरिवाना

साझेदारी दैनिक
948 पाठक संख्या

राम मण्डल/
पर्साको एक उद्योगले नक्कली लोगो प्रयोग गरेर गुणस्तर नभएको कपडा विक्री वितरण गरेको आरोपमा जरिवाना गराईएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको एस आर रेडिमेड उद्योगले एडिदास र दि नार्थ फेसको लोगो राखेर सो अनुसारको गुणस्तर नभएको सामान बिक्री गरेको भन्दै ३ लाख नगद जरिवाना गरिएको छ ।

आईतवार जिल्ला अनुगमन टोलीले उद्योग अनुगमनको क्रममा यस्तो फेला परेपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अनुगमनको क्रममा उक्त उधोगले प्रतिष्ठित एडिदास र दि नार्थ फेसको ब्राण्ड लगाई रेडिमेड कपडाहरु बिक्री गरिरहेको पाइएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका नेतृत्वमा सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरिक्षक राजेंद्र खड्का, राष्ट्रिय अनुसन्धानका टीका प्रसाद पोखरेल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निरीक्षण अधिकृत जित बहादुर भण्डारीको टोलीले अनुगमन गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम वस्तु वा सेवाको वास्तविक गुणस्तर, बनावट आदि ढाँटी लुकाई, झुक्याई बिक्री गरिरहेकोले सोही ऐनको दफा ३९ को (ख) बमोजिम तीन लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सुचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिएका छन ।

जरिवाना बापतको रकम उद्योगलाई सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न निर्देशन पनि दिईएको सूचना अधिकारी खँग खत्वेले बताए ।

Leave a review

This will close in 0 seconds