बारामा क्यान्सर पीडित महिलालाई घरमै पुगेर नागरिकता प्रदान

साझेदारी डेलि
160 पाठक संख्या

बारा । जिल्ला प्रशासन कार्यालय बाराले एक क्यान्सर पीडित महिलालाई उनको घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २७ निवासी मुरतिया देवी क्यान्सर रोगका कारण अत्यन्त सिकिस्त अवस्थामा रहेका बेला प्रशासनले मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चालेको हो ।

पीडित परिवारबाट नागरिकताका लागि माग भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र स्वयं बिरामीको घरमै पुगेका थिए । प्रजिअ मिश्रले बिरामी मुरतिया देवीको अवस्था अवलोकन गरी उनको सही सनाखत गराएका थिए । सनाखत प्रक्रिया पूरा भएपछि उनले सोही स्थानमा मुरतिया देवीका पति संजय सहनी मलाहलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।

नागरिकता वितरणका लागि प्रजिअ मिश्रको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधिहरूको टोली बिरामीको घरमै पुगेको थियो । उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रशासकीय अधिकृत मनिषा कर्ण, नायब सुब्बा रत्न स्याङ्गतान, कम्प्युटर अपरेटर हरिवंश चौधरी र सम्बन्धित वडाका वडा अध्यक्ष अशोक तिवारी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले क्यान्सर रोगसँग लडिरहनुभएकी मुरतिया देवीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

Leave a review

This will close in 0 seconds