अनुमतिको दुरुपयोग गरेका चार निजी विद्यालयलाई जीतपुरसिमराले कारबाही गर्दै तत्काल बन्द निर्देशन

रञ्जन यादव
43 पाठक संख्या

जीतपुर । विद्यालय सञ्चालन अनुमति (लाइसेन्स) को दुरुपयोग तथा शैक्षिक नियमको उल्लङ्घन गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिकाले चार वटा निजी विद्यालयमाथि कारबाही गर्दै बन्द गराएको छ। उपमहानगरपालिकाको शिक्षा महाशाखाले सिमरास्थित माउन्ट एभरेष्ट स्कुल, रोज एकेडेमी, अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र बाबुलाल एकेडेमीलाई तत्काल सञ्चालन रोक्न निर्देशन दिएको जनाएको छ।

शिक्षा महाशाखाका अनुसार रोज एकेडेमी, अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र बाबुलाल एकेडेमीले विगतमा सञ्चालन अनुमति प्राप्त गरे पनि लामो समयदेखि स्वीकृत उद्देश्यअनुसार विद्यालय सञ्चालन नगरेको पाइएको छ। अनुगमनका क्रममा ती विद्यालयको अवस्था अनुमति प्राप्त विवरणसँग मेल नखाने देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

सबैभन्दा गम्भीर प्रकृतिको अनियमितता भने माउन्ट एभरेष्ट स्कुलमा फेला परेको उपमहानगरपालिकाले जनाएको छ। शिक्षा अधिकृत हरिश भट्टका अनुसार वडा नं. २ मा सञ्चालन अनुमति लिएको उक्त विद्यालय स्वीकृत स्थानमा सञ्चालनमा नरहेको पाइएको छ। बरु सोही अनुमतिपत्र प्रयोग गरी वडा नं. २१ अमलेखगञ्जस्थित नाइट एन्जल बोर्डिङ स्कुलको भवनबाट कक्षा सञ्चालन गरिएको भेटिएको छ।

अनुगमन प्रतिवेदनअनुसार नाइट एन्जल बोर्डिङ स्कुलसँग कक्षा ७ सम्म मात्र पठनपाठन गराउने स्वीकृति भए पनि माउन्ट एभरेष्टको अनुमतिको आडमा कक्षा १० सम्म विद्यार्थी भर्ना र अध्यापन गरिँदै आएको खुलासा भएको छ। उपमहानगरपालिकाले यसलाई विद्यालयको लाइसेन्स दुरुपयोग मात्र नभई अनुमति पत्रको कारोबार गर्ने प्रवृत्तिको संकेतका रूपमा लिएको जनाएको छ।

शिक्षा शाखाले सम्बन्धित विद्यालयलाई यसअघि पटक–पटक मौखिक तथा लिखित रूपमा सचेत गराएको भए पनि सुधारको पहल नदेखिएपछि अन्ततः बन्द गर्ने निर्णय गरिएको जनाएको छ। नगर प्रमुख, उपप्रमुख तथा शिक्षा शाखाको संयुक्त टोलीले विभिन्न चरणमा गरेको अनुगमनपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

उपमहानगरपालिकाले अभिभावकलाई बन्द गरिएका विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न आग्रह गर्दै विद्यालय छनोट गर्दा कानुनी स्वीकृति, भौतिक पूर्वाधार तथा शैक्षिक अवस्थाबारे यकिन गर्न अनुरोध गरेको छ। स्थानीय तहले आगामी दिनमा पनि विद्यालय सञ्चालन अनुमति दुरुपयोग, नियमविपरीत पठनपाठन तथा लाइसेन्स कारोबारजस्ता गतिविधिविरुद्ध नियमित अनुगमन र कडा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

Leave a review

This will close in 0 seconds