सिमरा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनअन्तर्गत असार ७ गते हुने निर्वाचनका लागि २१ सदस्यीय कार्यसमितिको विभिन्न पदमा ३० जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातेको छ।
अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपाध्यक्षमा शिवजी प्रसाद साह सोनार र सन्तोष कुशवाहा आमनेसामने छन् भने महासचिवमा प्रकाश गिरी र सुशील शर्माबीच भिडन्त हुनेछ।
उद्योग उपाध्यक्षमा विजयकुमार साह, सचिव (उद्योग) मा मुकेशप्रसाद साह, वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी तथा एशोसियट सदस्यमा हिमांशु गोल्छा एकल उम्मेदवार रहेकाले निर्विरोध चयन हुने सम्भावना छ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सरदचन्द्र भट्टराईका अनुसार असार ४ गते उम्मेदवारी फिर्तापछि अन्तिम उम्मेदवारको सूची प्रकाशन गरिनेछ। निर्वाचनमा ९५८ मतदाता सहभागी हुनेछन्। मतदान असार ७ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।


