जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ ले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सामुदायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संघ–संस्थालाई बाजागाँजा वितरण गरेको छ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चयन गुरुङ ले जनजागृति आमा समूह, वैष्णव भक्त कीर्तन मण्डली तथा धाँगर समुदायका प्रतिनिधिलाई आवश्यक बाजासामग्री हस्तान्तरण गर्नुभयो। वितरण गरिएका सामग्रीमा हार्मोनियम, मादल, ढोलक, करताल, मञ्जिरा, झ्याली लगायतका परम्परागत बाजा समावेश छन्।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले स्थानीय कला, संस्कृतिको संरक्षण केवल सरकारी दायित्व मात्र नभई समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार वडा कार्यालयले परम्परागत संस्कृति नयाँ पुस्तासम्म हस्तान्तरण गर्न तथा मौलिक पहिचान जोगाइराख्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउने योजना बनाएको छ। सार्वजनिक पूजाआजा, भजन–कीर्तन, धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रममा आवश्यक सामग्रीको अभाव हुन नदिन सहयोग गरिएको उहाँले बताउनुभयो।
बाजागाँजा प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरुले वडा कार्यालयको पहलप्रति धन्यवाद व्यक्त गर्दै उपलब्ध गराइएका सामग्रीलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यस सहयोगले आर्थिक सीमितताका कारण प्रभावित भइरहेका गतिविधिलाई नियमित सञ्चालन गर्न सहज हुने धारणा राखेका छन्।
वडा कार्यालयले स्थानीय धार्मिक परम्परा, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई थप सशक्त बनाउन आगामी वर्षहरूमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ।


