सूर्य नेपालद्वारा सिमरा नमुना विद्यालयलाई ७ स्मार्ट बोर्ड हस्तान्तरण

रञ्जन यादव
56 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ ७ वटा नयाँ स्मार्ट बोर्ड प्राप्त गरेको छ। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यालयलाई उक्त सामग्री उपलब्ध गराएको हो।

आयोजित हस्तान्तरण कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठले विद्यालयका प्रधानाध्यापक शंकर आचार्यलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताए। उनका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै विद्यालयको सिकाइ प्रणाली पनि डिजिटल माध्यममा रूपान्तरण हुन आवश्यक छ।

श्रेष्ठले अहिलेको प्रतिस्पर्धात्मक युगमा कम्प्युटर तथा डिजिटल सीप प्रत्येक विद्यार्थी र शिक्षकका लागि आधारभूत आवश्यकता बनिसकेको उल्लेख गरे। कृत्रिम बौद्धिकता (एआई) मा आधारित च्याटजीपीटी, जेमिनी तथा क्लाउड प्रविधिजस्ता नयाँ उपकरणले विश्वव्यापी रूपमा शिक्षा र कार्यशैली परिवर्तन गरिरहेको भन्दै उनले समयअनुसार आफूलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए।

४३ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको सूर्य नेपालले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक लगानी गर्दै आएको उनले जानकारी दिए। स्थानीय समुदायसँग सहकार्य गरेर दीर्घकालीन विकासमा योगदान पु¥याउने कम्पनीको नीति रहेको उनको भनाइ थियो।

विद्यालयमा यसअघि पनि कम्पनीले प्रशासनिक भवन निर्माण, जीवविज्ञान प्रयोगशाला स्थापना, कम्प्युटर उपलब्ध गराउने, ७ वटा स्मार्ट बोर्ड प्रदान गर्ने तथा अन्य शैक्षिक पूर्वाधार विकासमा सहयोग गरिसकेको छ। हाल विद्यालय परिसरमा इन्टरलक ब्लक बिछ्याउने र हरियाली प्रवद्र्धन गर्ने कार्यसमेत सञ्चालन भइरहेको जानकारी दिइयो।

प्रधानाध्यापक शंकर आचार्यले सूर्य नेपालको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठामा शिक्षण सिकाइलाई थप प्रभावकारी, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार अडियो, भिडियो, प्रस्तुतीकरण तथा अन्य डिजिटल सामग्री प्रयोग गरेर अध्यापन गर्न सहज हुने भएकाले विद्यार्थीको सिकाइ उपलब्धि अझ सुधार हुने अपेक्षा गरिएको छ।

यसै कार्यक्रममार्फत सूर्य नेपालले क्षेत्रका अन्य शैक्षिक संस्थालाई पनि स्मार्ट बोर्ड वितरण गरेको जनाएको छ। सिमरा कलेजलाई ४ वटा तथा जनता माध्यमिक विद्यालय, रजघट्टा माध्यमिक विद्यालय, डुमरवाना माध्यमिक विद्यालय र पथलैया माध्यमिक विद्यालयलाई जनही २÷२ वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने उद्देश्यले कम्पनीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। यस सहयोगबाट जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा डिजिटल शिक्षाको विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका प्रतिनिधिहरू यज्ञबहादुर आले, उमेश थापा तथा विद्यालयका शिक्षक, अभिभावक र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds