कलैयामा मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

साझेदारी डेलि
318 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बुधबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा.१ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक अनियन्त्रित भई सडकको बायाँ साईडमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।

दुर्घटनामा जितपुर सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी ५० वर्षीय देवनारायण चौधरी टाउको तथा दुवै हातखुट्टामा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रवक्ता घलेले बताएका छन् ।

सोही स्थानका ४० वर्षीय शिवनारायण पासवानको भने प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा राति १२ः५० बजे मृत्यु भएको र उनको शव अस्पतालमै राखिएको छ।

दुर्घटनापछि प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा मिनी ट्रकको अगाडिको भागमा क्षति पुगेको र घरको एक साईडको पर्खाल भत्किएको प्रवक्ता घलेले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a review

This will close in 0 seconds