जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

साझेदारी डेलि
17 पाठक संख्या

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि जनआस्था साप्ताहिकका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद थपको अनुमति दिएको हो।

श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनको निवास नजिकबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार एक महिलाले दिएको जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठको निवास तथा झम्सीखेलस्थित जनआस्था साप्ताहिकको कार्यालयमा पुगेर विद्युतीय उपकरण तथा केही कागजातसमेत नियन्त्रणमा लिएको जनाएको छ।

श्रेष्ठको पक्राउ र जनआस्थाको कार्यालयमा गरिएको खानतलासीप्रति नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाललगायत सञ्चारसम्बन्धी संस्थाहरूले आपत्ति जनाएका छन्।

Leave a review