सखुहवामा वन गस्ती पुगेपछि काठसहित साइकल छाडेर भागे तस्कर

रञ्जन यादव
38 पाठक संख्या

कोल्हवी । बाराको कोल्हबी नगरपालिका–५ सखुहवा क्षेत्रमा वन गस्ती टोलीले अवैध रूपमा लैजान खोजिएको सालको काठ बरामद गरेको छ। गस्तीका क्रममा पाँचवटा साइकलमा लोड गरिएको पाँच थान सालको गोलिया फेला परेको हो।

कोल्हबी सब–डिभिजन वन कार्यालयका अधिकृत कृष्ण पटेलको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा राति सखुहवा क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा काठ बोकेका साइकल फेला परेपछि नियन्त्रणमा लिन खोज्दा ओसारपसारमा संलग्न व्यक्ति काठ र साइकल छाडेर फरार भएका थिए।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार बरामद सालको गोलियाको कुल परिमाण करिब २० क्युफिट रहेको छ। काठ कुन क्षेत्रबाट कटान गरी ल्याइएको हो र त्यसमा संलग्न व्यक्ति को हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

वन गस्ती टोलीले बरामद गरेका काठ र पाँचवटै साइकललाई थप अनुसन्धानका लागि सम्बन्धित वन कार्यालयमा ल्याइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको वन कार्यालयले जनाएको छ। वन क्षेत्रमा हुने अवैध रूख कटान र काठ ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती तथा सूचनामा आधारित निगरानीलाई अझ प्रभावकारी बनाउने डिभिजन वन कार्यालय बाराले जनाएको छ।

Leave a review