कोल्हबी–८ मा २२ लाखको लागतमा सार्वजनिक भवन सञ्चालनमा

साझेदारी डेलि
68 पाठक संख्या

कोल्हवी । बाराको कोल्हबी नगरपालिका–८ मल्हनी टोलमा निर्माण गरिएको सार्वजनिक भवन स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले एक कार्यक्रमबीच रिबन काटेर भवनको उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा उपप्रमुख चौधरीले भवन निर्माणसँगै स्थानीयवासीलाई विवाह, व्रतबन्ध, सभा, बैठक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न सहज हुने बताइन्। चुनावका क्रममा आफूले गरेको प्रतिबद्धताअनुसार भवन निर्माणको काम अघि बढाइएको उनको भनाइ थियो।

भवन निर्माणका लागि विभिन्न आर्थिक वर्षमा वडा र नगरपालिकाबाट गरी २२ लाख रुपैयाँ बजेट खर्च भएको जनाइएको छ। स्थानीय तहको निर्वाचनपछि तत्कालीन वडा अध्यक्ष सार्थक पौडेलको पहलमा आर्थिक वर्ष २०७४ तिर वडा बजेटबाट ५ लाख रुपैयाँ विनियोजन गरी निर्माण प्रक्रिया सुरु गरिएको थियो।

निर्माणलाई निरन्तरता दिने क्रममा आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाबाट १२ लाख र आर्थिक वर्ष २०८२/८३ मा थप ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यसरी विभिन्न चरणमा प्राप्त बजेटबाट भवन निर्माण सम्पन्न भएको हो।

नवनिर्मित भवन स्थानीय सभा, बैठक, छलफल, तालिम, सांस्कृतिक तथा सामाजिक कार्यक्रम, महिला र युवासम्बन्धी गतिविधि तथा जनचेतनामूलक कार्यक्रमका लागि प्रयोग गरिने बताइएको छ। भवनले स्थानीयस्तरमा हुने सामुदायिक गतिविधिलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उपप्रमुख चौधरीले भवनलाई दीर्घकालसम्म उपयोगी बनाउन स्थानीयवासीले यसको संरक्षणमा साझा जिम्मेवारी लिनुपर्नेमा जोड दिइन्। सार्वजनिक सम्पत्तिको उचित प्रयोग र संरक्षणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उनले बताइन्। कार्यक्रममा वडा सचिव भागवत चौधरी, बसन्ती चौधरीलगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको सहजीकरण किशोर बस्नेतले गरेका थिए।

Leave a review