जीतपुर । तीन वर्षीया गरिमा चौधरीको हत्यामा संलग्नलाई कडा सजाय माग गर्दै बाराको कोल्हबीमा प्रदर्शनसहित चक्काजाम गरिएको छ। थारु कल्याणकारिणी सभा नगर कमिटी कोल्हबी र वडा नं. १ इकाइ कमिटीको संयुक्त आयोजनामा बुधबार विरोध र्याली निकालिएको हो।
‘गरिमाका हत्यारालाई फाँसी देऊ’, ‘गरिमालाई न्याय देऊ’ र ‘व्गकतष्अभ ायच न्बचष्mब’ लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले कोल्हबी बजार परिक्रमा गरेका थिए। बजार परिक्रमा गरेपछि जनशक्ति क्लबको गोलघर नजिकै र्याली कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै थारु कल्याणकारिणी सभा बाराका जिल्ला सभापति रामप्रसाद चौधरीले घटनाका आरोपितलाई कठोर कानुनी सजाय दिनुपर्ने माग गरे। दोषीमाथि प्रभावकारी कारबाही हुन नसके यस्ता आपराधिक घटना दोहोरिन सक्ने उनको भनाइ थियो।
कार्यक्रममा थारू राष्ट्रिय कलाकार मञ्च मधेस प्रदेशका संयोजक भुवन चौधरी, बारा जिल्ला अध्यक्ष जयप्रकाश चौधरी, कोल्हबी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेमनारायण चौधरी तथा थारू अगुवा वीरेन्द्र पनुहर, हरिहर चौधरी र रीता चौधरीलगायतले सम्बोधन गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले कोल्हबी–तामागढी सडकमा टायर बालेर करिब एक घण्टा यातायात अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले गरिमा हत्याका आरोपितलाई कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्।


