दुई दशकदेखि जगदम्बा युनियनमा चुनाव भएन, सहमतिमै नेतृत्व

रञ्जन यादव
69 पाठक संख्या

जीतपुर । औद्योगिक क्षेत्रमा मजदुर संगठनको नेतृत्व चयनलाई लिएर विवाद र प्रतिस्पर्धा हुने गरेको भए पनि बाराको जगदम्बा स्टिल्स लिमिटेडमा भने अवस्था फरक देखिएको छ। युनियन स्थापना भएको २२ वर्षमा भएका ११ वटै अधिवेशनबाट नेतृत्वसहित कार्यसमिति सर्वसम्मत रूपमा चयन हुँदै आएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–४ देवाश्रममा शनिबार सम्पन्न युनियनको ११ औँ अधिवेशनले दीपक बि.क.लाई अध्यक्ष र दीपक कार्कीलाई सचिवको जिम्मेवारी दिएको छ। अन्य पदाधिकारी तथा सदस्य पनि सहमतिबाटै चयन भएका छन्।

युनियनका अनुसार प्रत्येक दुई वर्षमा अधिवेशन हुँदै आए पनि नेतृत्वका लागि अहिलेसम्म निर्वाचनको अवस्था सिर्जना भएको छैन। लामो समयसम्म एउटै प्रक्रियाबाट नेतृत्व चयन हुनु औद्योगिक मजदुर संगठनका लागि उल्लेखनीय अभ्यास भएको युनियनको दाबी छ।

अधिवेशनलाई सम्बोधन गर्दै जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले श्रमिक र उद्योगबीचको सहकार्यले मात्र औद्योगिक विकासलाई दीर्घकालीन बनाउन सकिने बताए। श्रमिकका अधिकार सुनिश्चित गर्दै उत्पादन र उद्योगको हितलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमरिया, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, अखिल नेपाल औद्योगिक महासंघ बाराका अध्यक्ष डि.बी. थापा र जितपुरसिमरा–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठलगायतले श्रमिक संगठनको भूमिकाबारे धारणा राखेका थिए।

वक्ताहरूले मजदुरका पारिश्रमिक, सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र सेवा–सुविधाका विषय उठाउनुका साथै उद्योगको उत्पादन र श्रम अनुशासन कायम राख्न पनि युनियन जिम्मेवार हुनुपर्ने बताएका थिए। उद्योग र श्रमिकबीच सहकार्यको वातावरण बनेमा त्यसको लाभ दुवै पक्षले लिन सक्ने उनीहरूको भनाइ थियो।

नवनिर्वाचित अध्यक्ष बि.क.ले युनियनमा कायम सहमति र एकतालाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। श्रमिकका अधिकार संरक्षणसँगै उनीहरूका समस्या समाधानका लागि व्यवस्थापनसँग समन्वय गरेर अघि बढ्ने उनको प्रतिबद्धता थियो।

सचिव कार्कीले श्रमिकको सुरक्षा, सेवा–सुविधा र युनियनको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

औद्योगिक प्रतिष्ठानमा मजदुर युनियनको नेतृत्व चयनका क्रममा मतभेद र समूहगत प्रतिस्पर्धा देखिने गरेको अवस्थामा जगदम्बा स्टिल्सको युनियनले भने सहमतिबाटै नेतृत्व हस्तान्तरण गर्दै आएको छ। यही अभ्यासले युनियनलाई अन्य औद्योगिक मजदुर संगठनभन्दा फरक पहिचान दिएको छ।

Leave a review