सुरक्षित र अपराधरहित कलैयाको माग गर्दै युवाले नगर प्रमुखलाई बुझाए ६ बुँदे ज्ञापनपत्र

साझेदारी डेलि
43 पाठक संख्या

बारा । कलैया उपमहानगरपालिकालाई सुरक्षित, व्यवस्थित तथा अपराधरहित सभ्य समाजका रूपमा विकास गर्न माग गर्दै स्थानीय युवाहरूले नगर प्रमुख बिनोद साहलाई ज्ञापनपत्र बुझाएका छन्।

विभिन्न राजनीतिक, गैरराजनीतिक, पेसाकर्मी, विद्यार्थी तथा युवा समुदायको साझा उपस्थितिमा नगर प्रमुखसमक्ष ६ बुँदे प्रमुख मागहरूसहित ध्यानकर्षण गराइएको हो।

ज्ञापनपत्रमा कलैया उपमहानगरपालिकामा विगत केही वर्षमा सञ्चालित विकास परियोजनाहरूले जनस्तरमा अपेक्षित परिवर्तन र आधुनिकता ल्याउन नसकेको भन्दै युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय कलैयामा असुरक्षा महसुस हुने अवस्था सिर्जना भएको, पर्याप्त सडकबत्तीको अभाव रहेको, र प्रभावकारी रात्रिकालीन सुरक्षा गस्ती तथा प्रविधिको प्रयोग हुन नसकेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ।

युवाहरूले मुख्य ६ वटा माग अघि सारेका छन्:

१. AI-Integrated Security Surveillance System: ‘Face Detection’, ‘Night Vision’ र ‘Anti-Glare’ प्रविधिसहितका उच्च गुणस्तरका CCTV क्यामेरा जडान गरी २४ सै घण्टा डिजिटल निगरानीको व्यवस्था।

२. सडकबत्ती व्यवस्थापन: सम्पूर्ण सडक, गल्ली र चोकहरूमा गुणस्तरीय विद्युत बत्ती तथा आवश्यक स्थानमा ‘Heavy-Duty Solar Street Light’ जडान।

३. रात्रिकालीन सुरक्षा गस्ती: नगर प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीमार्फत रात्रिकालीन सुरक्षा र निगरानीलाई प्रभावकारी बनाउने।

४. आपत्कालीन सेवा सुदृढीकरण: कलैयामा मोबाइल एम्बुलेन्स तथा द्रुत प्रतिक्रिया दिने आपत्कालीन सुरक्षा प्रणाली स्थापना।

५. लागुऔषध नियन्त्रण: युवाहरूलाई लागुऔषधबाट जोगाउन रोकथाम, जनचेतना, पुनर्जागरण र निगरानीसहितका कार्यक्रम सञ्चालन।

६. स्वरोजगार र उद्यमशीलता: स्थानीय युवाहरूलाई बिनाधितो/सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदानको व्यवस्था गरी स्वरोजगारमा जोड्ने।

ज्ञापनपत्रमा आकाश साह, मनिष यादव, नेजामुदिन अंसारी, चन्दन ठाकुर, प्रविण पटेल, प्रभात सिंह, जाबेद अंसारी, सदाम अंसारी, राम यादव, दिपक यादव लगायत विभिन्न वडाका युवाहरूको हस्ताक्षर रहेको छ।

युवाहरूले मागहरू तत्काल सम्बोधन नभए नागरिक आवाजलाई थप सशक्त बनाउन संघर्षका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन्।

Leave a review