कोल्हबी । बाराको कोल्हवीमा नेपाली काँग्रेस शेरबहादर देउवा समुहले बुधवारदेखी नगर अधिवेशन सुरु गरेको छ । नेपाली कांग्रेस कोल्हबी नगर समितिको तेस्रो अधिवेशनले पार्टीभित्र देखिएको मतभेदलाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
कोल्हबीस्थित बीपी स्मृति भवनमा बुधबार सम्पन्न अधिवेशनमा बोल्ने कांग्रेस नेताहरूले फरक विचार र समूह भए पनि त्यसको असर संगठनको गतिविधिमा पर्न नदिन कार्यकर्ताबीच सहकार्य र अनुशासन आवश्यक रहेको बताए।
तत्कालिन नगर सभापति वीरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कोल्हवी नगरपालिकाका नगर प्रमुख समेत रहेका कांग्रेसका पूर्वजिल्ला सचिव रामप्रसाद चौधरीले गरेका थिए। उनले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्नुका साथै गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका हुन ।
कार्यक्रममा नगर प्रमुख चौधरीले कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको गतिविधिबारे धारणा राखे। उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आयोजना गरेको महाधिवेशनमा आफू सहभागी भएको बताउँदै विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाए। कोल्हबीमा समेत नगर सभापतिलाई जानकारी नदिई उपसभापतिबाट चयनको मिति तोकिएको भन्दै उनले पार्टीका क्रियाशील सदस्यलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
चौधरीले आफ्नो कार्यकालमा नगरको कृषि, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम अघि बढाइएको दाबी गर्दै स्थानीय तहको विकासका लागि निरन्तर पहल गरिरहेको बताए। उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा बोल्दै नगर सभापति वीरेन्द्रप्रसाद चौधरीले पार्टीलाई बलियो बनाउन आन्तरिक मतभेदलाई संगठनविरोधी गतिविधिमा परिणत गर्न नहुने बताए। उनले कांग्रेसलाई व्यवस्थित र जनमुखी बनाउन कार्यकर्ताबीच सहकार्य, अनुशासन र एकताको आवश्यकता औँल्याए।
युवापुस्तामा देखिएको असन्तुष्टि र परिवर्तनको चाहनालाई राजनीतिक दलहरूले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। लोकतान्त्रिक मूल्य, विधिको शासन, सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै कांग्रेसले नयाँ पुस्तालाई संगठनसँग जोड्नुपर्ने उनले बताए।
अधिवेशनमा कांग्रेस जिल्ला कोषाध्यक्ष बासुप्रसाद चौधरी, मधेस प्रदेश प्रतिनिधि सञ्जयकुमार चौधरी, प्रदेश महाधिवेशन प्रतिनिधि सुरेशबाबु चौधरी, तरुण दलका केन्द्रीय सभापति ओमप्रकाश चौधरी, नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरीलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।
यता विशेष महाधिवेशन पक्षधर सभापति गगनकुमार थापा पक्षले भने यसअघिनै कोल्हवी नगरपालिकाको नगरअधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व समेत चयन गरिसकेको छ । सो समुहको नगरसभापतिमा बसन्त चौधरी चयन भएका थिए । गगन कुमार थापा पक्षधरले वडा,नगर, क्षेत्रीय अधिवेशहरु सम्पन्न गरी काठमाण्डौमा केन्द्रीय महाधिवेशन जारी रहेको छ ।


