जितपुरसिमरामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

साझेदारी डेलि
52 पाठक संख्या

कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित क्विक ट्वान्टी होटलअगाडि पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका हेटौँडा–पथलैया सडकखण्डमा आइतबार बिहान करिब ५ बजे नम्बर नखुलेको सवारीसाधनले स्थानीय ६०–६५ वर्षीय रामबहादुर थिङलाई ठक्कर दिएर फरार भएको थियो।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा ५ जनासहितको टोली घटनास्थल पुगेको थियो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिङलाई प्रहरीले आफ्नै सवारीसाधनमा उपचारका लागि पर्साको बिरगंजस्थित नारायणी अस्पताल वीरगन्ज पुर्‍याएको थियो।

अस्पतालमा बिहान ७ बजेर ३ मिनेटमा चिकित्सकले ईसिजी गर्दा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव नारायणी अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।

उनका अनुसार सो घटनामा संलग्न प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी र चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।

Leave a review