काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ ।
पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँका विषयमा उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख छ । ती विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएको जनाउँदै पार्टीले सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।
महिलामाथि हुने दुव्र्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टी शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहेको उल्लेख गर्दै पार्टीले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने स्पष्ट पारेको छ ।
कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ ।


