जीतपुर । स्थानीयस्तरमा सामुदायिक गतिविधि सञ्चालनका लागि बाराको मध्यवर्ती जनहित उपभोक्ता समितिले करिब २६ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गरेको छ। नवनिर्मित सभाहलको मधेश प्रदेशसभा सदस्य देव नारायण चौधरीले रिबन काटेर उद्घाटन गरेका छन्।
सभा, बैठक, छलफल तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको सभाहलले स्थानीय समुदायलाई कार्यक्रम आयोजना गर्न थप सुविधा पुग्ने समितिले जनाएको छ।
सभाहल निर्माणमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ बाट ७ लाख, वडा नम्बर ३ बाट ५ लाख, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारीबाट ५ लाख, उपमहानगरपालिकाको नगरस्तरीय बजेटबाट ३ लाख र पर्सा राष्ट्रिय निकुञ्जबाट २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिए। निर्माणमा समितिको आफ्नै कोषबाट थप ४ लाख रुपैयाँ खर्च गरिएको उनले बताए।
सभाहल उद्घाटनका अवसरमा पर्सा राष्ट्रिय निकुञ्जको प्रमुखका रूपमा आएका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामलाई समितिले स्वागत तथा सम्मान गरेको थियो। कार्यक्रममा बोल्दै डा. रामले निकुञ्जमा पर्यापर्यटन विकासको सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवद्र्धनका लागि पथलैयाबाटै पहल अघि बढाउनुपर्ने बताए।
निकुञ्जको संरक्षण, व्यवस्थापन र पर्यापर्यटनसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउन पथलैयामा पोस्ट स्थापना गरी रेञ्जर तहका एक कर्मचारी खटाउने योजना रहेको उनले जानकारी दिए। यसअघि पनि निकुञ्जको कार्यालय प्रमुखका रूपमा काम गरिसकेका रामले पुनः नेतृत्वको जिम्मेवारी पाउनु चुनौतीसँगै अवसर भएको धारणा राखे।
कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय सरोकारवाला तथा अन्य सहभागीहरूको उपस्थिति थियो। सो अवसरमा बडादसैँ, तिहार, छठ र नेपाल संवत् नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरिएको थियो। कार्यक्रम सञ्चालन समितिका सचिव पेशल मुल्मीले गरेका थिए।


