Sajhedari Daily
Latest News from Nepal

वीरगञ्ज महानगरका वडाध्यक्षसहित तीनजना बिरुद्ध मुदा दर्ता

राम मण्डल /
वीरगञ्ज महानगरका एक वडाध्यक्षसहित तीन जना बिरुद्ध मुदा दर्ता भएको छ ।

शंकास्पद रुपमा शव गाड्न लागिएकी भारतीय युवतीको मृत्यु भएको घटनामा संलग्न भएको भन्दै उजुरी परेको हो ।

शँकास्पद रुपमा मृत्यु भएकी युवतीको शब गाड्न लागिएको घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तुफान फारुक अन्सारी, पर्साको जगरनाथपुर गाउँपालिकाका जेठो छोरा नासिर मिया र मृतकका बुवा समसुदिन अन्सारी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्धा दर्ता भएको छ ।

शँकास्पद रुपमा मृत्यु भएकी भारत बिहारको पश्चिम चम्पारण इनर्वा थाना खमिया बस्ने युवती जयनुत खातुनको शबको काठमाडौंमा पोष्टमार्टम भएपछि उनको मृत्यु झुण्डिएर भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

शँकास्पद रुपमा युवतीको मृत्यु भएपछि शबको पोष्टमार्टम नगराई गाड्न लागिएकोले घटना लुकाउन लागिएको भन्दै प्रहरीले वडाध्यक्ष अन्सारीसहित तीनैजना बिरुद्ध मुदा दर्ता गरेको हो ।

झुण्ड्याएर मारेको हुनसक्ने आशंकामा घटना लुकाउने र प्रमाण दबाउने, नष्ट गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले तीनै जना विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाएको छ ।

मलुकी अपराध संहिताको दफा ९३ विरुद्धको कसुरमा वडाध्यक्ष सहित तीनैजाना बिरुद्ध मुद्धा दर्ता भएको हो । उक्त दफा अनुसार कसैले कुनै कसुरदारलाई बचाउने नियतले निजले गरेको कसुर समबन्धि कुनै प्रमाण दबाउन नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरि बिगार्न हुदैन भनिएको छ ।

यदि त्यस्तो कसुर गर्ने गराउने ब्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजारसम्म रुपैयासम्म जरिवाना हुने कानुनी ब्यावस्था छ । मुद्धा दर्ता भएपछि वडाध्यक्ष अन्सारीसहि तजथरनाथपुर गाउँपालिकाका अध्यक्ष मियाँका जेठा छोरा नासिर फरार रहेका छन । मृतकक युवतीका बुवा समसुदिन प्रहरी हिरासतमा छन ।

गत साउन २१ गते साँझ भारतीय युवती जयनुतको शबलाई वीरगञ्ज महानगरपालिका–१३ स्थित कब्रिस्तानमा गोप्य रुपमा गाडन लागिएको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ती युवतीको शँकास्पद रुपमा मृत्यु भएको आशँकामा प्रहरीले शबको पोष्टमार्टमको लागि काठमाडौं पठाएको थियो । पोष्टमार्टमको रिपोर्टमा युवतीको मृत्यु झुण्डिएर भएको पुष्टि भईसकेको छ ।

मृतक युवती पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाका कान्छो छोराकी साली थिइन्। उनी केही दिनदेखि दिदीभिनाजुसँगै बस्दै आएकी थिइन्। सोही क्रममा ती युवतीको मृत्यु भएको थियो ।

Comments are closed.

error: Content is protected !!