कामेश्वर चौरसियाको वेव सिरिज ‘कैंची’को शुभमुहर्त

रञ्जन यादव
371 पाठक संख्या

भ्रष्टचार र स्कयाममा आधारित भोजपुरी र नेपाली भाषमा निर्माण हुने वेव सिरिज ‘कैंची’को बाराको जीतपुरमा शुभमुहर्त गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित गढीमाई मन्दिरमा एक कार्यक्रमको आयोजना गरी हिन्दु धार्मिक परम्परा अनुसार पुजा पाठ गरी शुभमुहर्त गरिएको हो ।

पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो ।

मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया,आमिर गौतम,पूजा ठाकुर,सुनिता पासवान,घनश्याम गिरी,दीपक चन्द,प्रदीप ढकाल,हरिश विक्रम खडायत,शुभम भुमियार, रियाज आचार्य,दिपक आरजे र सरोज शाह लगायत स्थानीय कलाकारको अभिनय रहने छ ।

सत्य घटनाबाट प्रभावित वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ । बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ ।

कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन नरेश आफैले गर्दैछन् ।त्यस्तै बेव सिरिजमा सँगित एन.एस.आर्याको रहने छ ।‘कैंची ’निर्माणमा करिब ८० लाख लागत भन्दा बढी रकम लाग्ने अनुमान गरिएको अभिनेता चौरसियाले जानकारी दिए ।

बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्मस्को व्यानरमा निर्माण हुने सिरिजमा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा छन् । मित्र गुरुङको सम्पादन, राजेन्द्र मोक्तानको कलर, मनिष भट्टको मुख्य सहायक निर्देशन,शैलेस श्रेष्ठको पाश्र्वध्वनी हुनेछ ।

पाँचवटा एपीसोडमा आउँने कैँची वेब सिरिज करिब ५ घण्टाको हुने छ । यो शुभमुहर्त भएको तीन महिनासम्ममा निर्माण गरी प्रदर्शनमा ल्याईसक्ने लक्ष्य राखिएको कैचीका निर्देशक योगीले जानकारी दिनुभयो ।

मधेशको कन्टेनमा निर्माण हुने वेब सिरिज अहिलेसम्म निर्माण भएका चलचित्रहरु भन्दा अलि फरक हुने जनाईएको छ ।मधेशमा धेरै राम्रा राम्रा बिषय बस्तुहरु छन् । तर अहिले सम्म कुनै चलचित्र,वेब सिरिज वा सिरियल बन्न सकेको अवस्था छैन,निर्देशक योगीले भने,मधेश सुन्दर छ,अहिलेसम्म मुभिहरुमा देखाईएको भन्दा मधेश पृथक छ ,यो वेब सिरिजको माध्यमबाट हामीले देखाउँनेछौ ।

”शुभमुहर्त हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,निबर्तमान अध्यक्ष संजय साह,संस्थापक अध्यक्ष घनश्याम गिरी,साझेदारी बन उपभोक्ता महासंघका मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साह,रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी,समाजसेवी ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गर्नु भएको थियो ।

Leave a review