नेकपा बाराद्वारा एकता बैठक र प्रशिक्षणको तयारी तीव्र

साझेदारी डेलि
19 पाठक संख्या

कलैया । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बारा जिल्ला समितिले आगामी साउन ३० गते आयोजना गर्ने जिल्ला स्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ। कार्यक्रमको व्यवस्थापन र तयारीबारे छलफल गर्न बुधबार कलैयामा जिल्ला समितिको बैठक सम्पन्न भएको हो।

बारा उद्योग वाणिज्य संघको सभाहलमा बसेको बैठक जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले पार्टी एकीकरणपछि संगठनात्मक संरचनालाई थप सुदृढ र क्रियाशील बनाउने उद्देश्यसहित जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ।

बैठकमा जिल्लाभर पार्टी संगठन विस्तार, स्थानीय तहमा गतिविधि प्रभावकारी बनाउने, नेता–कार्यकर्ताबीच समन्वय बढाउने तथा आगामी राजनीतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। संगठनलाई जनस्तरसम्म बलियो बनाउने रणनीतिमा समेत सहभागीहरूले धारणा राखेका थिए।

जिल्ला समितिका अनुसार एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न पालिका र वडा तहका प्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहनेछ। कार्यक्रममार्फत पार्टीको नीति, वैचारिक दृष्टिकोण र आगामी कार्ययोजनाबारे नेता–कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिने तयारी गरिएको छ।

बैठकले कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गर्नुका साथै आवश्यक जिम्मेवारीसमेत बाँडफाँट गरेको जनाएको छ। कार्यक्रममा केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज रमेश यादव, सहइन्चार्ज बतहु यादव, केन्द्रीय सदस्यहरू रामचन्द्र प्यासी, बिजेन्द्र चौधरी, प्रमानन्द साह, दिलमाया धामी, मुकेश साह, जिल्ला सहसंयोजक धुव्र यादव, रविराज दंगाल, रामनिवास साह, नेता दिनेश राइलगायतको सहभागिता रहेको थियो।

जिल्ला समितिले एकता बैठकलाई संगठनात्मक एकजुटता सुदृढ गर्ने तथा आगामी राजनीतिक अभियानका लागि कार्यकर्तालाई तयार पार्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

Leave a review