कलैयामा लामखुट्टेको विगविगी

साझेदारी डेलि
262 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिकामा रहेको खुल्ला नालाको कारण लामखुट्टेको विगविगी भएको छ। पछिल्लो समय यहाँ लामखुट्टेको अत्याधिक वृद्धि भएको हो। कलैयामा साँझपख र बिहान मात्र होइन दिउसो समेत लामखुट्टेले आतंक मच्चाउने गरेको छ। बालबालिका र वृद्धहरू यसले परेशानी बढाएको छ। राति सुत्न पनि मुस्किल भइरहेको छ । लामो समय देखि उपमहानगरपालिकाले लामखुट्टेको औषधी नछर्केको देखिएको छ।

मौखिक रुपमा पटक पटक लामखुट्टेको बारेमा पालिकालाई गुनासो गर्दा समेत कुनै सुनुवाई नभएको कलैयाका श्याम प्रसादले जनाए। औषधी छिर्काउ अभियानलाई नियमित र प्रभावकारी बनाउन उनले माग गरे। लामखुट्टेको वृद्धि सँगै डेंगु, मलेरिया तथा चिकुङ्गन्या जस्ता रोगको जोखिम बढेको बारा जिल्लाको सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट अजय कुमार गुप्ताले जनाए। अस्पतालमा डेंगु मलेरियाका विरामीहरु आउने गरेका छन् ।

लामखुट्टेको वृद्धिको कारण मलेरिया, डेंगु देखिएको हो। यसको रोकथाम गर्न औषधी छिर्काउ आवश्यक रहेको उनले बताए। पानी जम्ने स्थान बढ्नु, ढल निकासको समस्या र फोहर व्यवस्थापन कमजोर भएकोले लामखुट्टे बढेको हो। कोही कसैमा रोगहरुको सामान्य लक्षण देखिए पनि हेलचक्राई नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन उनले सुझाव दिए। पानी जम्न नदिनु, झ्याल–ढोकामा जाली लगाउनु, लामखुट्टे भगाउने उपाय अपनाउनु र फोहर व्यवस्थापनमा ध्यान दिन डाक्टर गुप्ताले सुझाव दिएका हुन्।

कलैयामा बढ्दो लामखुट्टेको समस्या तत्काल नियन्त्रण नगरे महामारीको रूप लिन सक्ने चेतावनी आफूले दिदै आएको उनले जनाए। लामखुट्टे नियन्त्रण गर्न सम्बन्धित निकाय र नागरिक दुवैको सक्रियता अपरिहार्य रहेको उनले बताए।

लामखुट्टे नियन्त्रणका लागि औषधि छर्काइ, जनचेतनामूलक कार्यक्रम र सरसफाइ अभियान सञ्चालन गर्ने तयारी गरिएको कलैया उपमहामनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले जानकारी दिए। सामूहिक प्रयास आवश्यक रहेको उनले बताए।

Leave a review

This will close in 0 seconds