कलैयाका नगरप्रमुख र विधुत प्राधिकरण प्रमुख आम्ने–साम्ने लाईन काटे प्राधिकरण कार्यालयकै लाइन काट्छौ : नगरप्रमुख साह

संदिप प्रसाद यादव
604 पाठक संख्या

नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्र र कलैया उपमहानगरपालिका बीच विवाद बढ्दै गएको छ ।

कलैया उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहहरुले अनियमित तरिकाले हाई मास लाईट जडान गरेको भन्दै नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्रले ४ दिन अगाडि कलैया उपमहानगरपालिका भित्र पर्ने मोतिसर,सिसहनिया चौक समेत गरि ३ ठाउँका हाई मास लाईट टावरको लाईन काटेको थियो ।

४ दिन पछी नागरिकलाई सास्ती भएको भन्दै कलैया उपमहानगरका नगर प्रमुख बिनोद साह बुधबार आफै फिल्डमा खटिए । उनकै नेतृत्वमा खटिएको टोलीद्वारा कलैया वितरणले काटेको लाइन पुनः जडान गरियो ।

लाईन जडान गरे पछी उपमहानगरका नगरप्रमुख साहले पोल र हाई मास लाईट प्राधिकरणले छोयो भने प्राधिकरण कार्यालयको लाइन काटने चेतावनी दिएका छन ।

साझेदारी दैनिकसंग कुरा गर्दै नगरप्रमुख साहले “खबरदार अबदेखी मेरो नगरपालिका भित्रको लाईन काट्ने काम प्राधिकरणले गर्‍यो भने,उसको कार्यालयको लाईन आफै गएर काटिदिने चेतावनी दिएका छन ।

नगर प्रमुख साहले बारम्बार ताकेता गर्दा समेत लाईन नजोडेकोले नगर प्रमुख साहको नेतृत्वमा गएको टोलीद्वारा पुनः टावर लाईटको लाईन जडान गरिएको थियो ।

लाईन काटेपछि आक्रोशित नगरप्रमुख साहले विधुत प्राधिकरण कार्यालयले प्रयोग गर्ने कलैया उपमहानगर भित्र पर्ने पोलको पनि कर तिर्नु पर्ने बताएका छन । उनले बुधवार नै कार्यपालिकाको वैठकले नगरपालिका भित्रका पोलहरुको भाडा दर कायम गरेकाले प्राधिकारणले प्रयोग गर्दै आईरहेको पोलको भाडा उठाएर छाड्ने बताएका छन ।

नगरपालिकाको प्रत्येक पोलका चार सयको दरले भाडा प्राधिकरणले दिन्छ भने उसको १८ करोड बाकी पैसा तिर्ने कलैया उपमहानगरपालिका का नगर प्रमुख साहले निर्णय गरेको बताए ।

उनले साझेदारी राष्ट्रिय दैनिकलाई संक्षिप्त प्रतिकृया दिदै भने, “ कलैया वितरण केन्द्रले पनि उपमहानगर अन्तर्गत राखेको पोलको प्रति पोल ४ सय भाडा तिरोस हामी १८ करोड बाकी तिर्न तयार छौ ।”

नागरिकलाई सुविधा दिनु भन्दा पनि पीडा दिने मनसायका साथ प्राधिकरणले गरेको यस्तो कृयाकलाप असह्य रहेको भन्दै नगर प्रमुख साहले आगामी दिनमा यस्ता कृयाकलाप नगर्न तथा कुनै पनि बहानामा सडक बत्तीहरुको लाईन नकाट्न प्राधिकरणलाई आग्रह समेत गर्नु भएको छ।

यता नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख ऋषि कुमार बर्णवालका अनुसार नगरप्रमुख साहले प्रतिवद्धता समेत गर्न मान्नु भएन र बुधबार नगरप्रमुख साहले आफ्नो कर्मचारीद्धारा हाई लाइट मास टावरको पुन जडान गरेको बताएका छन ।

साझेदारी राष्ट्रिय दैनिक संगको कुराकानीमा बोल्दै प्राधिकारण प्रमुख बर्णवालले भने,“हामीले कलैया उपमहानगरसंग रकम मागेको होइनौं मात्र प्रतिबद्धता पत्र मागेको थियौं र उपमहानगरको नाममा बिलिङग हुने गरि नि.शुल्क मिटर जडान गरि दिन्छौं“ ।

जनप्रतिनिधिहरुले नियम बनाउनु भएको छ र आफैले नियमको पालन गरि दिनु पर्छ देशभरी नै नि.शुल्क मिटर दिदै आएको प्रमुख बर्णवालले बताएका छन ।

Leave a review